काठमाडौं – आज (शनिबार) देखि पर्सि (सोमबार) सम्म कतै कतै छिटपुटबाहेक वर्षाको सम्भावना नदेखिएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौमसविद् समीर श्रेष्ठका अनुसार अबका तीन दिनका लागि मौसम सुध्रिएको हो। मौसम महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम अनुमान गर्ने गर्छ।
‘अहिले (शनिबार बिहान) पनि देशभर मौसम सामान्यतया सफा छ’, उहाँले भन्नुभयो, ‘अपराह्नपछि भने कतै कतै बदलीको सम्भावना छ।’
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक-दुई ठाउँमा भने मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।
मौसमविद्का अनुसार एक–दुई ठाउँमा वर्षाको सम्भावना देखिनु पानी पर्ने सम्भावना कम हुनु हो।




प्रतिक्रिया