अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चराले सफा गर्ने बराह तालको जैविक विविधता नासिँदै

चराले सफा गर्ने बराह तालको जैविक विविधता नासिँदै


म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका-१ निस्कोट गाउँको शिरानमा रहेको बराह तालको जैविक विविधता नास हुँदै गएको छ। चराले सफा गर्ने यो तालमा पछिल्लो समय यातायातका साधनको पहुँचसँगै मानिसको भीडभाड बढेपछि यहाँ पाइने चरा बसाइँ सरेर अन्यत्र गएका स्थानीयले बताएका छन् । गाउँको सिरानमा र जङ्गलको पुछारमा रहेको यो ताल कहिल्यै पनि फोहर हुँदैन । यहाँ जङ्गलका पात पतिङ्गर परिहाले भने पनि पन्छीले चुच्चोले टिपेर बाहिर फ्याँक्ने गर्दथे तर पछिल्लो समय यहाँका रैथाने चरा देखिन छोडेका र ताल सफा गर्ने चरा पनि कम हुँदै गएका स्थानीय टेकबहादुर पुनले बताउनुभयो ।

निस्कोट गाउँमा पुगेपछि घना वनजङ्गलको बीच भाग र केही मानव बस्ती रहेको ठाउँमा ताल हेर्न पाइन्छ । झण्डै दुई रोपनीमा फैलिएको तालको जैविक विविधता संरक्षणमा स्थानीय तहको ध्यान जान आवश्यक रहेको ताल अवलोकनमा आउनुभएका पोखराका धनमणि अर्मजाले बताउनुभयो ।

रोमाञ्चक भू–बनोट, हरियाली र विविधताले युक्त सुन्दर गाउँ, मनमोहक प्रकृति र यही प्रकृतिको सेरोफेरोमा रहेको चित्ताकर्षक बराह तालमा पछिल्लो समय आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ ।

समुद्री सतहदेखि दुई हजार तीन सय मिटर उचाइमा अवस्थित ताल र आसपासबाट मनोरम हिमशृङ्खला देखिन्छन् । तालमा वन जङ्गल र हिमाल देखिने प्रतिविम्ब ९छायाँ० समेत आकर्षकरूपमा देखिने निस्कोटका स्थानीय रमेश पुनले बताउनुभयो ।

पातपतिङ्गर परेमा चराले सफा गर्ने गरेको मालिका गाउँपालिका–१ का वडाध्यक्ष टङ्कप्रसाद पुनले बताउनुभयो । छिमेकी जिल्ला बागलुङको ताराखोला जोड्ने पदमार्गमा पर्ने पर्यटकीय महत्वको तालको आवश्यक प्रचारप्रसार गर्नुपर्ने स्थानीयको भनाइ छ । मगर समुदायको बाहुल्यता रहेको निस्कोटमा लोपोन्मुख यानीमाया, सुनीमाया, सालैजोजस्ता गीत सुन्न पाइन्छ ।

ताल मुख्य आकर्षणको रुपमा रहेको निस्कोटमा पछिल्लो समय स्वदेशी पर्यटक भ्रमण गर्न पुग्ने गरेका छन् । तालको पर्यटन प्रवद्र्धन गर्न यहाँको जैविक विविधताको संरक्षण गरी पर्यावरणीय शुद्धता कायम गर्न पालिकामार्फत आवश्यक पहल गरिने वडाध्यक्ष पुनले बताउनुभयो ।