काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको सुनिश्चितताका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।
राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहलाई सिंहदरबारमा सम्बोधन गर्नुहुँदै आइतबार प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले सरकारले सञ्चार क्षेत्रको व्यावसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह नै मान्यता प्रदान गरी संरक्षण र समर्थन गर्ने नीति लिएको स्पष्ट पार्नुभयो।
उहाँले सबै प्रकारका सञ्चारमाध्यमको संस्थागत तथा भौतिक सुरक्षाको प्रत्याभूति गर्ने सञ्चार क्षेत्रका समस्या समाधान गर्न सकारात्मक पहल भइरहेको बताउनुभयो।
प्रधानमन्त्रीले भन्नुभयो, ‘वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको सुनिश्चितताका लागि पूर्णरुपमा प्रतिबद्ध छ। सरकारले सञ्चार क्षेत्रको व्यावसायिक र संस्थागत विकासका लागि पनि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह नै मान्यता प्रदान गरी संरक्षण र समर्थन गर्ने नीति लिएको छ। पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमको संस्थागत तथा भौतिक सुरक्षाको प्रत्याभूति गर्ने सञ्चार क्षेत्रका तमाम समस्या समाधान गर्न सकारात्मक पहल भइरहेको छ ।’
प्रधानमन्त्री प्रचण्डले सरकारले प्रवाह गर्ने सबै सरकारी विज्ञापन, विज्ञापन बोर्डमार्फत न्यायिक ढङ्गले वितरण गर्ने व्यवस्था मिलाउन लागेको जानकारी दिनुभयो । उहाँले ज्येष्ठ पत्रकार र अपाङ्गता भएका पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था मिलाउन लागेको बताउनुभयो । उहाँले सञ्चार उद्योगको संस्थागत विकासलाई ध्यानमा राखी एकीकृत मिडिया विकास कोष स्थापनाका लागि पहल अघि बढाइएको पनि जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘सरकारले प्रवाह गर्ने सबै सरकारी विज्ञापन, विज्ञापन बोर्डमार्फत न्यायिक ढङ्गले वितरण गर्ने व्यवस्था मिलाइँदै छ । यो प्रक्रिया अघि बढिसकेको छ । ज्येष्ठ पत्रकार र अपाङ्गता भएका पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था मिलाइँदैछ । सञ्चार उद्योगको संस्थागत विकासलाई ध्यानमा राखी एकीकृत मिडिया विकास कोष स्थापनाका लागि पहल अघि बढाइँदै छ ।’
प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिलाई नै सरकारको उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।







प्रतिक्रिया