काठमाडौं – राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधायन व्यवस्थापन समितिका नवनिर्वाचित सभापति जयन्तीदेवी राईलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ।
सिहदरबारस्थित संसद् भवनमा आज आयोजित कार्यक्रममा सभापति राईले सो शपथ लिनुभएको हो। नेकपा एकीकृत समाजवादीका तर्फबाट उहाँ राष्ट्रियसभा सदस्य हुनुहुन्छ। नवनिर्वाचित राईले आजै पदबहाली गर्नुभयो।
पदबहालीपछि रासससँग कुराकानी गर्दै उहाँले राष्ट्र र जनताका पक्षमा सक्रियतापूर्वक कानुन निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “समितिमा प्रवेश पाएका विधेयकलाई समृृद्ध तुल्याएर यथाशक्य छिटो निकर्षमा पु¥याइनेछ, समितिका सबै सदस्यले एक मन र मतले सक्रियतापूर्वक खटेर प्राप्त जिम्मेवारीलाई पूरा गर्नेमा मेरो पूर्ण विश्वास छ।” समितिमा राष्ट्रिय मर्यादाक्रम निर्धारण, नेपाल विश्वविद्यालय, कोभिड-१९ सङ्कट व्यवस्थापनलगायत विधेयक छन्।
यसअघि उक्त समितिका सभापतिका रुपमा पर्शुराम मेघी गुरुङ र डा. वेदुराम भुसालले काम गर्नुभएको थियो । डा. भुसाल वर्तमान मन्त्रिपरिषद्मा सहभागी हुनुभएसँगै सभापति पद रिक्त थियो। उक्त समितिको समितिमा राईको चयनसँगै राष्ट्रियसभा मातहतका चारमध्ये दुई समितिमा महिलाको नेतृत्व हुन पुगेको छ। राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी थापा सभापति हुनुहुन्छ।






प्रतिक्रिया