पोखरा-गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित खारोङ र उङजुलुङको बीचमा सुक्खा पहिरो खसेर स्यार खोला थुनिएपछि बुढीगण्डकी नदीमा भीषण बाढी आएको छ। थुनिएको खोला फुटेर आएको बाढीले नदी किनारका बस्ती तथा भौतिक संरचनामा क्षति पुर्याएको छ।
चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाका अनुसार पहिरोका कारण नदीको बहाव रोकिँदा ठूलो मात्रामा पानी जमेको थियो। नदी थुनिएको स्थानमा करिब २०० देखि ३०० मिटर माथिसम्म पानी र वाफको मुस्लो देखिएको उनले जानकारी दिए।
खोला थुनिएपछि जमेको पानी एक्कासि बग्दा बुढीगण्डकी नदीमा ठूलो बाढी आएको हो। बाढीले नदी किनारका केही बस्ती र भौतिक संरचनामा क्षति पुर्याएको भए पनि घटनास्थलसम्म उद्धार टोली पुग्न नसकेको जनाइएको छ।
प्रमुख प्रशासकीय अधिकृत सापकोटाका अनुसार हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन। घटना लगत्तै सतर्कता अपनाइएकाले नदी तटीय क्षेत्रका बासिन्दा सुरक्षित स्थानतर्फ सरेका छन्।
नदीमा आएको बाढीपछि तल्लो तटीय क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ। स्थानीय प्रशासन र गाउँपालिकाले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन, नदीको बहाव नजिक नजान र सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्।
घटनाबाट भएको क्षति तथा बाढीको अवस्थाबारे थप विवरण संकलन भइरहेको छ।



प्रतिक्रिया