अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले प्रचार प्रमुख आचार्यको प्रश्न: दसैँमा जनताले सास्ती पाउँदा सरकार किन मौन ?

एमाले प्रचार प्रमुख आचार्यको प्रश्न: दसैँमा जनताले सास्ती पाउँदा सरकार किन मौन ?


काठमाडौं-नेकपा (एमाले) का प्रचार विभाग प्रमुख निरज आचार्यले दसैँका बेला महँगी, अभाव, कालोबजारी र यातायातको समस्याले सर्वसाधारणले सास्ती भोग्नुपर्दा पनि सरकार मौन रहेको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमा लेख्दै आचार्यले यस्तो आरोप लगाएका हुन्। उनले जनजीविकासँग जोडिएका समस्याप्रति गम्भीर बन्न सरकारलाई आग्रह समेत गरेका छन्। आचार्यले यातायातमा मनपरी भाडा असुल्ने प्रवृत्ति रोक्न, तोकिएको भाडादर कार्यान्वयन गर्न तथा हवाई भाडा सर्वसाधारणको पहुँचमा राख्न माग गरे।

त्यस्तै, ग्यास र इन्धनको सहज आपूर्ति सुनिश्चित गर्न, कृत्रिम अभाव र कालोबजारी गर्नेमाथि कडा कारबाही गर्न तथा अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन उनले सरकारको ध्यानाकर्षण गराएका छन्।

‘यति कुरामा त सरकार गम्भीर बन्!’ भन्दै उनले जनताका समस्यामा आश्वासनभन्दा पनि तत्काल देखिने परिणाम आवश्यक रहेको बताएका छन्।

दसैँमा घर जाने यात्रुहरू टिकटको महँगो मूल्य र यातायातको समस्याका कारण प्रभावित भएको उल्लेख गर्दै आचार्यले आर्थिक अभावमा घर पुग्ने रहर अधुरै छाड्न बाध्य नागरिकप्रति सरकार संवेदनशील हुनुपर्ने बताएका छन्।

‘जनता कुनै दलका कार्यकर्ता मात्र होइनन्, देशका नागरिक हुन्। जनतालाई सास्ती दिएर सत्ताको रसस्वादन गर्ने छुट कसैलाई छैन,’ उनले लेखेका छन्।

आचार्यले सामाजिक सञ्जालमा रहेका फ्यान र फलोअरलाई मात्र जनता ठान्ने सरकारी प्रवृत्तिप्रति पनि टिप्पणी गरेका छन्। ग्यास, चिनी, तेल र खाद्यान्नको अभावमा कष्टकर जीवन बिताइरहेका तथा महँगीका कारण दसैँमा घर जान नसकेका नागरिकका समस्यालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ।

उनले सरकारलाई मानवीय संवेदना कायम राख्न, जनताप्रति जवाफदेही बन्न र आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरेका छन्।