काठमाडौँ -गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच ठूलो पहिरो खस्दा थुनिएको बुढीगण्डकी नदी पुनः बग्न थालेको छ । नदी थुनिएको स्थानबाट पानी बग्न थालेपछि ठूलो बाढी आएको भन्दै प्रहरीले त्रिशूली दोभानसम्म नदी किनारमा नजान र उच्च स्थानमा सुरक्षित रहन आग्रह गरेको छ ।
आइतबार बिहान ५ः३० बजे पहिरोका कारण बुढीगण्डकी नदी थुनिएको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी सिर्दिबास र प्रहरी चौकी चुम्चेतबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो ।
नदी थुनिएपछि तटीय क्षेत्रमा रहेका प्रहरी युनिट तथा स्थानीय बासिन्दालाई सचेत गराइएको थियो । बिहान ६ः१५ बजेदेखि थुनिएको स्थानबाट पानी बग्न थालेपछि ठूलो बाढी आएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।
बाढीको जोखिमलाई ध्यानमा राख्दै त्रिशूली दोभानसम्म नदीको छेउछाउ नजान र बाढीको बहाव सामान्य नहुँदासम्म उच्च स्थानमा सुरक्षित बस्न आग्रह गरिएको छ ।



प्रतिक्रिया