अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बुढीगण्डकीमा भीषण बाढी: उद्धारका लागि हेलिकोप्टर परिचालन

बुढीगण्डकीमा भीषण बाढी: उद्धारका लागि हेलिकोप्टर परिचालन


गोरखा-गोरखाको चुमनुब्री गाउँपालिकामा बुढीगण्डकी नदीमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ। बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ भने विभिन्न बस्तीमा व्यापक क्षति पुर्‍याएपछि उद्धार तथा राहतका लागि हेलिकोप्टर परिचालन गरिएको छ।

गृहमन्त्री सुदन गुरुङले प्रभावित क्षेत्रमा उद्धारका लागि हेलिकोप्टर परिचालन भइसकेको जानकारी दिएका छन्। उनले बाढीको जोखिममा रहेका नदी किनारका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरेका छन्।

गृहमन्त्री गुरुङका अनुसार चुमनुब्री गाउँपालिका–३ मा न्याक्चेत र फिलिम बजार जोड्ने पुल बगेको छ। घट्टेखोला क्षेत्रमा केही घरमा लेदोसहितको बाढी पसेको र नदीको बहाव निरन्तर बढिरहेको सूचनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उनले बताएका छन्। घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासनलाई उद्धार, राहत तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न परिचालन गरिएको उनले जानकारी दिएका छन्।

आज बिहान करिब ४ बजे बाढी बस्तीमा पसेपछि स्थानीय बासिन्दा ज्यान जोगाउन सुरक्षित स्थानतर्फ भागेका थिए। चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा पनि व्यापक क्षति भएको छ। चुमनुब्री गाउँपालिका–३ का बजार क्षेत्रमा समेत बाढीले ठूलो क्षति पुर्‍याएको उनले बताइन्।

बाढीको जोखिमलाई ध्यानमा राख्दै सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलले जानकारी दिए।

गृहमन्त्री गुरुङले प्रभावित क्षेत्रको अवस्था बुझ्न आफू पनि त्यसतर्फ जाने बताएका छन्। उनले आपत्कालीन सहायताका लागि गृह मन्त्रालयको हटलाइन नम्बर १२३४ मा सम्पर्क गर्नसमेत आग्रह गरेका छन्।