अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनविश्वास कायम राख्न पत्रकारले आचारसंहिताको पालना गर्नुपर्छ: अध्यक्ष बस्नेत

जनविश्वास कायम राख्न पत्रकारले आचारसंहिताको पालना गर्नुपर्छ: अध्यक्ष बस्नेत


वीरगञ्ज – प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले जनविश्वास कायम राख्न पत्रकारहरुले आचारसंहिताको पूर्ण रुपमा परिपालना गर्नुपर्ने बताउनुभएको छ।

पर्दाफास मिडिया प्रालि वीरगञ्जद्वारा सञ्चालित पर्दाफास डेली डटकम अनलाइनको उद्घाटन तथा ‘मर्यादित पत्रकारिताका लागि पत्रकार आचारसंहिता’ विषयक अन्तरक्रियामा अध्यक्ष बस्नेतले पत्रकार आचारसंहिताको परिपालना हुन नसक्दा पत्रकारप्रति जनविश्वास घट्दै गएको बताउनुभयो। उहाँले जनविश्वासलाई कायम राख्न आचारसंहिताको पूर्ण परिपालना गर्नुपर्नेमा जोड दिनुभयो।

पत्रकार आचारसंहिताको पूर्ण कार्यान्वयनका लागि काउन्सिल प्रतिबद्धत रहेको बताउँदै अध्यक्ष बस्नेतले आचारसंहितालाई समयसापेक्ष पुनर्वलोकनसँगै अनुगमन गरी रहेको चर्चा गर्नुभयो ।

स्वच्छ, निष्पक्ष र मर्यादित पत्रकारिताका लागि प्रेस काउन्सिलले पुरस्कार र दण्डको नीति लिएर अघि बढेको उल्लेख गर्नुहुँदै उहाँले गलत गर्नेलाई कारबाही र राम्रोलाई पुरस्कृत गर्ने नीति अङ्गीकार गरेको प्रेस काउन्सिलले काम गरिरहेको बताउनुभयो।

पछिल्लो समय पत्रकार र सञ्चारमाध्यमको विश्वसनीयतामाथि प्रश्न उठ्नु चिन्ताको विषय भएको बताउँदै अध्यक्ष बस्नेतले समाचार विषयमा प्रश्न उठ्यो भने सच्याउने तत्परता सञ्चारमाध्यमले देखाउनुपर्ने बताउनुभयो । पत्रिकाको कार्ड लिने तर पत्रकारिता नगर्ने र राज्यको सुविधा लिने तर नियमित प्रकाशन नगर्ने सञ्चारमाध्यमाथि काउन्सिलले निगरानी गरिरहेको उहाँले बताउनुभयो । नेपालको राजनीतिक व्यवस्था परिवर्तनका लागि नेपाली सञ्चारमाध्यमहरुको भूमिका महत्वपूर्ण रहे पनि नेपाली मिडियाले अझै उचित सुविधा पाउन नसकेकोप्रति उहाँले दुःख व्यक्त गर्नुभयो।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव तथा प्रेस काउन्सिलका पूर्वसदस्य गोविन्द चौलागाईंले पत्रकारिताको शिरलाई ठाडो पार्न पत्रकारहरुले आचारसंहिताको पालना गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अर्का केन्द्रीय सचिव दीपेन्द्र चौहानले राज्यले प्रेस काउन्सिललाई दिएको अधिकारलाई सही ढङ्गबाट प्रयोग गर्नुपर्ने सुझाव दिँदै पत्रकार आचारसंहिताबारे देशव्यापी प्रशिक्षण चलाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, प्रेस काउन्सिल नेपालका सदस्य लालबाबु शेख, मिडिया काउन्सिल मधेस प्रदेशका कार्यवाहक अध्यक्ष कैलाश दास, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य केसी लामिछाने, महासङ्घ मधेस प्रदेशका अध्यक्ष राजेश कर्ण, महासचिव श्याम बञ्जारा लगायतले पत्रकार आचारसंहिताको पूर्ण परिपालना भए पत्रकारिताप्रतिको जनविश्वास अझै बढ्ने भएकाले सबैले त्यसको पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

पर्दाफास मिडिया प्रालि वीरगञ्जका अध्यक्ष तथा पर्दाफास डेली डटकमका सम्पादक राघव साहको अध्यक्षतामा आयोजित कार्यक्रममा चिकित्सा सेवाको क्षेत्रमा योगदान पु¥याएबापत डा राकेश तिवारी, शिक्षा क्षेत्रमा योगदान पु¥याएबापत अरविन्दकुमार चौधरी,  होटल तथा पर्यटन व्यवसाय सङ्घका हरि पन्त र पत्रकार रामपुकार यादवलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।  

Skip This