काठमाडौं – नेकपा एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेलले नक्कली शरणार्थी प्रकरणको छानबिन गर्न नेकपा एमालेले पूर्ण सहयोग गर्ने बताउनुभएको छ।
नेता ढुङ्गेलले नक्कली शरणार्थी काण्डका आरोपीलाई कानूनको दायरामा ल्याउन एमाले सहयोग गर्ने कुरा सुरुदेखि नै गर्दै आएको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘यस विषयमा पार्टीले औपचारिक निर्णय समेत गरिसकेको छ। आरोपितलाई कानूनी दायरामा ल्याउन हाम्रो पार्टी नेकपा एमालेले अनुसन्धानमा सघाउने र छानबिनको प्रक्रियालाई सहयोग गर्ने निर्णय गरिसकेको छ।’
सो घटनामा निष्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्ने उहाँको धारणा छ । छानबिनलाई कुनै पनि राजनीति रङ्ग नदिन उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘को को तानिन्छन् तान्नु, को को डामिन्छन् डाम्नु, रोक्न, छेक्न, लुकाउन हामीले कुनै दबाब दिएका छैनौँ र दिँदैनौ पनि ।’
ढुङ्गेलले सो प्रकरणमा नेकपा एमाले माथि कुनै शंका नगर्न पनि आग्रह गर्नुभयो । व्यक्ति कुनै दोषी हुन सक्ने बताउँदै ढुङ्गेलले दोषीलाई प्रमाण सहित कारबाही प्रक्रिया अघि बढाउन उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘एमाले पार्टीलाई अनावश्यक गाली गलौच र आरोप लगाउन आवश्यक छैन, सम्बन्धित निकायले कसैको दबाब र प्रभावमा नपरी निष्पक्ष भएर काम गरोस्।’




प्रतिक्रिया