अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न दललाई निर्वाचन आयोगको निर्देशन

लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न दललाई निर्वाचन आयोगको निर्देशन


काठमाडौँ – निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आर्थिक वर्ष २०७८/०७९ को लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको छ।

आयोगले कानुनबमोजिम आयोगमा लेखा परीक्षण प्रतिवेदन बुझाइसकेका ८२ राजनीतिक दललाई एक साताभित्र प्रतिवेदन सार्वजनिक गर्न र त्यसको जानकारी आयोगलाई गराउन निर्देशन दिएको हो।

आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा (१) बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र कानुन बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र आयोगमा सो लेखा परीक्षणको प्रतिवेदन पेश गर्नुपर्ने कानुनी व्यवस्थाको स्मरण समेत गराएको छ।

आयोगले विज्ञप्तिमार्फत भनिएको छ, ‘आर्थिक वर्ष २०७८/७९ को लेखा परीक्षण प्रतिवेदन तोकिएको समयसीमाभित्रै पेस गर्ने ८२ (बयासी) राजनीतिक दललाई आयोगमा पेस गरेको लेखा परीक्षण प्रतिवेदन ७ (सात) दिनभित्र सम्बन्धित दलको कार्यालय वा वेबसाइट, आमसञ्चारमाध्यम (पत्रपत्रिका, रेडियो, टेलिभिजन आदि), सामाजिक सञ्जाल (फेसबुक, ट्विटर, ईन्स्टाग्राम) का माध्यमबाट सार्वजनिक गरी सार्वजनिक गरेको मितिले ७ (सात) दिनभित्र सोको जानकारी आयोगमा गराउन निर्देशन दिएको छ।’

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राजनीतिक दलहरूलाई लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा (१) बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र कानुनबमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र आयोगमा सो लेखा परीक्षण प्रतिवेदन पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । जसअनुसार आयोगमा ८२ दलले त्यस्तो विवरण अद्यावधिक गराएका छन्। आयोगले निरन्तर दुई आर्थिक वर्षसम्म प्रतिवेदन पेस नगर्ने राजनीतिक दललाई त्यस्तो प्रतिवेदन पेस नगर्नुको कारण सोधेको छ।