अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मलाई मृत्युको चिन्ता छैन, देशका लागि लडिरहन्छु: अध्यक्ष ओली

मलाई मृत्युको चिन्ता छैन, देशका लागि लडिरहन्छु: अध्यक्ष ओली


काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई मृत्युको चिन्ता नभएको बताउँदै देश र जनताका लागि बाँचुन्जेल संघर्ष गरिरहने बताएका छन्। अध्यक्ष ओलीले आफूले व्यक्तिगत स्वार्थका लागि नभई देशका लागि राजनीति गरेको दाबी गर्दै कसैका सामु नझुक्ने स्पष्ट पारेका हुन्।

एमालेको सम्पर्क विशेष संगठन कमिटीले आइतबार काठमाडौंमा आयोजना गरेको ‘मिसन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेला’लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूलाई के हुन्छ भन्ने चिन्ता नरहेको बताए।

‘मलाई चिन्ता छैन, मलाई के हुन्छ भन्ने कुरा कुनै चिन्ता छैन। किनभने, मैले मेरा लागि कामै गरेको होइन,’ अध्यक्ष ओलीले भने, ‘मरिन्छ, यो देशका लागि।’

अध्यक्ष ओलीले आफूले साढे पाँच दशकभन्दा बढी समय देश र जनताको हितका लागि राजनीतिमा बिताएको उल्लेख गर्दै जीवनको अन्तिम समयसम्म संघर्ष जारी राख्ने बताए। ‘कुन दिन मरिन्छ भन्ने थाहा छैन, नमरुन्जेल लडिन्छ। बाँचुन्जेलसम्म बैरीसँग झुकिँदैन,’ अध्यक्ष ओलीले भने।

सम्बोधनका क्रममा अध्यक्ष ओलीले महाभारतका भीष्म पितामहको प्रसंगसमेत निकाले। आफूमाथि विभिन्न किसिमका प्रहार भइरहेको उल्लेख गर्दै उनले जति प्रहार भए पनि आफू नढल्ने दाबी गरे।

‘भीष्म पितामह शरशय्यामा ढलेका थिए, धेरै बुढो भइसकेका थिए। म त्यति बुढो भएको छैन, ढल्दिनँ, जति हाने पनि ढल्दिनँ,’ अध्यक्ष ओलीले भने।

अध्यक्ष ओलीले ५७ वर्षअघि राजनीतिक आन्दोलनको पुनर्गठन, एकीकरण र क्रान्तिकारी आन्दोलन सुरु गरेको स्मरण गरे। त्यतिबेला पञ्चायती व्यवस्था अन्त्य गर्ने र राजतन्त्र ढाल्ने उद्देश्य रहेको उल्लेख गर्दै उनले आफ्नो जीवनकालमै ती राजनीतिक परिवर्तन भएको बताए।

‘म जिउँदो हुँदाहुँदै राजतन्त्र ढालिएको छ, पञ्चायत फालिएको छ,’ उनले भने।

विगतमा राज्यले आफूविरुद्ध झुटा मुद्दा लगाएको र जेलमा राखेको उल्लेख गर्दै ओलीले राजनीतिक जीवनमा विभिन्न आरोप र चुनौतीको सामना गर्नुपरेको बताए। उनले आगामी दिनमा पनि देश र जनताका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे।