काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई जति प्रहार गरे पनि नढल्ने बताएका छन्। अध्यक्ष ओलीले आफू बाँचुन्जेल कसैका सामु नझुक्ने र देश तथा जनताका लागि निरन्तर लडिरहने बताएका हुन्।
एमालेको सम्पर्क विशेष संगठन कमिटीले आइतबार काठमाडौंमा आयोजना गरेको ‘मिसन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेला’लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाभारतका भीष्म पितामहको प्रसंग उल्लेख गर्दै आफूमाथि भएका प्रहारले विचलित नहुने बताएका हुन्।
‘नजिकै आउँछ, कमरेड भन्छन्, ग्याम्म छुरी हान्छ। यो पनि देखियो,’ अध्यक्ष ओलीले भने। भीष्म पितामह धेरै वृद्ध भएका कारण शरशय्यामा ढलेको प्रसंग उल्लेख गर्दै अध्यक्ष ओलीले आफू त्यति वृद्ध नभइसकेकाले जति प्रहार भए पनि नढल्ने दाबी गरे। ‘भीष्म पितामह शरशय्यामा ढलेका थिए, धेरै बुढो भइसकेका थिए। म त्यति बुढो भएको छैन, ढल्दिनँ, जति हाने पनि ढल्दिनँ,’ अध्यक्ष ओलीले भने।
आफूले साढे पाँच दशकभन्दा बढी समय देश र जनताका लागि राजनीतिमा बिताएको उल्लेख गर्दै अध्यक्ष ओलीले आगामी दिनमा पनि देश र जनताकै पक्षमा काम गर्ने बताए। अध्यक्ष ओलीले ५७ वर्षअघि राजनीतिक आन्दोलनको पुनर्गठन र एकीकरण गर्दै क्रान्तिकारी आन्दोलन सुरु गरेको स्मरण गरे।
त्यतिबेलाको उद्देश्य पञ्चायती व्यवस्था अन्त्य गर्ने, राजतन्त्र ढाल्ने र त्यसपछि समाजवादतर्फ अघि बढ्ने रहेको उनको भनाइ थियो। ‘म जिउँदो हुँदाहुँदै राजतन्त्र ढालिएको छ, पञ्चायत फालिएको छ,’ अध्यक्ष ओलीले भने।
अध्यक्ष ओलीले विगतमा पनि राज्यले आफूविरुद्ध झुटा मुद्दा लगाएको र जेलमा राखेको उल्लेख गरे। ‘राज्यले अहिले मात्रै ज्यानमारा भनेको होइन नि, त्यतिबेला पनि ज्यानमारा भनेको थियो,’ अध्यक्ष ओलीले भने।
आफूलाई मृत्युको डर नभएको बताउँदै ओलीले बाँचुन्जेल राजनीतिक संघर्ष जारी राख्ने र कसैका सामु नझुक्ने स्पष्ट पारे। ‘कुन दिन मरिन्छ भन्ने थाहा छैन, नमरुन्जेल लडिन्छ। बाँचुन्जेलसम्म बैरीसँग झुकिँदैन,’ अध्यक्ष ओलीले भने।
आफूले व्यक्तिगत स्वार्थका लागि नभई देशका लागि काम गरेको दाबी गर्दै ओलीले जीवनको अन्तिम समयसम्म देशकै लागि समर्पित रहने बताए। ‘मलाई चिन्ता छैन, मलाई के हुन्छ भन्ने कुरा कुनै चिन्ता छैन। किनभने, मैले मेरा लागि कामै गरेको होइन,’ उनले भने, ‘मरिन्छ, यो देशका लागि।’



प्रतिक्रिया