अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 शर्माको एकल चित्रकला प्रदर्शनी

 शर्माको एकल चित्रकला प्रदर्शनी


नवलपरासी–नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका कलाकार भीमप्रसाद शर्माले एकल चित्रकला प्रदर्शनी गर्नुभएको छ । गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा बिहीबार शर्माले ११औँ एकल चित्रकला प्रदर्शनी गर्नुभएको हो ।

गैँडाकोट–४ किसान आर्ट ग्यालरीमा गरिएको सो प्रदर्शनीमा शर्माले कोर्नुभएका २७ चित्र राखिएका छन् । यसअघि उहाँले भारत, जर्मनी, क्यानडा, अफगानिस्तान, डेनमार्क, दक्षिण कोरिया, बङ्गलालगायत देशमा समेत एकल चित्रकला प्रदर्शनी गरिसक्नुभएको छ । प्रदर्शनीको कलाप्रेमी तथा चित्रमा रुचि राख्नेहरूले अवलोकन गरेका थिए । 

किसान आर्ट ग्यालरीमा बेला–बेलामा कला, साहित्य तथा संस्कृति संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम हुँदै आएका छन् । कलावती आर्ट काउन्सिल, त्रिवेणी साहित्य प्रतिष्ठान र हामी कलाकार नामक संस्थाको सहयोगमा एकल चित्रकला प्रदर्शनीको आयोजना गरिएको हो । प्रदर्शनीमा राखिएका ती यस्ता चित्र हुन् जसमाथि पाँच कविले हरेक चित्रमा कविता कोरेका छन् । शर्माका चित्रमा आधारित रहेर साहित्यकार गोविन्दराज विनोदी, गीता त्रिपाठी, सुमन पोखरेल, गोपी सापकोटा र सुदेश सत्यालले कविता कोर्नुभएको छ । 

साझा प्रकाशनले कविता समेटेर ‘इत्थंविध चित्रः इत्थंविध कविता’ सङ्ग्रह प्रकाशन गरेको छ । “विनोदी सरलाई नभेटेको भए म चित्रकार हुने थिइनँ”, शर्माले भन्नुभयो, “मैले चित्र कोर्थेँ । उहाँले चित्र कोर्नुका साथै कविता पनि लेख्नुहुन्छ । चित्रकारको रचनालाई कविले कसरी हेरेको हुँदोरहेछ भन्ने अनुभव गरौँ न त भनेर अन्यलाई पनि कविता लेख्न लगाएर पुस्तकै तयार ग¥यौँ ।” विदेशका विभिन्न ठाउँमा प्रदर्शनी गरेको भए पनि कलामा साहित्य मिसाएर आफ्नै गाउँ–ठाउँमा गरिएको यो प्रदर्शनी उहाँलाई खास लागेको छ ।

कोरोना महामारीका समयमा घरमै थुनिँदा कोरेका धेरै चित्र प्रदर्शनीमा राखिएका शर्माको भनाइ छ । “यो प्रदर्शनीमा अनुहार देख्न पाउनुहुन्न, मान्छेले काम गरेको भाव देख्न सक्नुहुन्छ”, उहाँले भन्नुभयो । प्रदर्शनीमा जीवन दर्शन, आध्यात्म, प्रकृति, कोरोनाकालमा भएका घटनालाई चित्रमार्फत देखाइएको छ ।