काठमाडौं – नक्कली शरणार्थी खडा गर्ने फाइल अगाडि बढाउन नमानेको झोकमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणले एक नायब सुब्बालाई दुर्गममा सरुवा गरिदिएको खुलासा भएको छ।
भुटानी शरणार्थीसम्बन्धी समितिअन्तर्गत झापामा रहेको एक इकाइ प्रमुख रहेका ती कर्मचारीलाई खाँणले सरुवा गरी ताप्लेजुङ पठाइदिएका थिए । त्यो समितिमा विभिन्न दातृ निकायका कर्मचारी र गृह मन्त्रालयले खटाएका कर्मचारीले संयुक्त रूपमा शरणार्थी ‘भेरिफिकेसन’को काम गर्दै आएका थिए।
‘तपाईंले सहयोग गर्नुभएन भन्दै ती कर्मचारीलाई खाँणले सरुवा गरिदिनुभएको थियो,’ गृहस्रोतले भन्यो।
नक्कली शरणार्थी खडा गरी अमेरिका पठाउने भनी चलेको ठगी धन्दामा संलग्न भएको आरोपमा खाँण बुधवार पक्राउ परेका छन् । उनलाई ३ दिनको म्याद लिएर प्रहरीले हिरासतमा राखेको छ।
अदालतले दिएको म्याद आज (शुक्रवार) सकिए पनि भोलि शनिवार परेकाले खाँण हिरासतमै रहनेछन्। उहाँलाई म्याद थपका लागि आइतवार पुनः जिल्ला अदालत काठमाडौंमा लगिने छ। खाँणसँगै उनका निजी सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन्।
खाँणले गिरोहका सदस्यसँग मनी ट्रान्सफरमार्फत पैसा बुझेको प्रमाण फेला परेको प्रहरी स्रोतले जनाएको छ। गिरोहका सदस्यहरूसँगको ‘कल डिटेल्स’, च्याट आदिलाई पनि प्रमाणका रूपमा लिइएको छ। यस प्रकरणमा अहिलेसम्म १२ जना पक्राउ परेका छन् । खाँणका अलावा इन्द्रजीत राई, केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ, सन्देश शर्मा पोखरेल, टेकनारायण पाण्डे र सन्दीप रायमाझीलगायत प्रहरी हिरासतमा छन्।
अहिलेसम्म उनीहरूविरुद्ध २० वटा जाहेरी परेको छ। प्रहरीका अनुसार १५४ जना पीडित सम्पर्कमा आएका छन्। हालसम्म पीडितले दिएको विवरण हेर्दा २३ करोड बराबर बिगो कायम हुनसक्ने देखिएको छ।
अपराध अनुसन्धान कार्यालयका अनुसार यस प्रकरणमा २०७९ जेठ १८ गते रामकुमार रेग्मी र गजेन्द्र बुढाथोकीले पहिलो उजुरी दिएका थिए । अन्य जाहेरी पछि मात्र थपिएका हुन् ।






प्रतिक्रिया