अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विकासमा पक्षपात भयो भने विद्रोह हुन्छ: अध्यक्ष तिमिल्सिना

विकासमा पक्षपात भयो भने विद्रोह हुन्छ: अध्यक्ष तिमिल्सिना


पर्वत – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विकासका योजना छनोटमा पक्षपात हुँदा त्यसले विद्रोह निम्त्याउने सक्ने चिन्ता व्यक्त गर्नुभएको छ।

अध्यक्ष तिमिल्सिनाले आफ्नो जन्मगाउँ पर्वतको मोदी गाउँपालिका-७ को वडा कार्यालय भवनको उद्घाटनलाई सम्बोधन गर्दै उहाँले पक्षपातरहित ढङ्गले विकास निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। “विकास निर्माणका काम योजनाबद्ध र आवश्यकताका आधारमा हुन आवश्यक छ”, उहाँले भन्नुभयो, “बिना गुरुयोजना पहुँच हुनेले योजनाहरु लाने र अरूले नपाउने भयो भने त्यस्तो अवस्थामा विद्रोह हुन्छ । पक्षपातरहित ढङ्गले विकासको समानुपातिक वितरण आवश्यक छ ।”

अध्यक्ष तिमिल्सिनाले विकासमा पक्षपात गर्नु हुँदैन भन्ने मान्यता सबैले राख्नुपर्नेमा जोड दिँदै सबैले भूगोल र क्षेत्रका बासिन्दाले पनि आफ्ना योजना पनि छनोटमा पर्छन् भन्ने धैर्यता राख्ने र नीति निर्माण तहमा रहेका व्यक्तिले  बिना पक्षपात काम गर्नुपर्ने बताउनुभयो । तीनवटै तहका सरकारले आगामी आर्थिक वर्षका लागि बजेटको तयारी गरिरहेका बेला योजनाबद्ध र आवश्यकताका आधारमा योजना छनोट गर्न उहाँले आग्रह गर्नुभयो । 

पर्वत जिल्लाका सबै वडा कार्यालयहरुसम्म पुग्ने सडकहरु कालोपत्र हुने चरणमा रहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले अहिले काम भइरहेका र योजना छनोट प्रक्रियामा रहेका स्थानका बासिन्दालाई पनि धैर्यता गर्न आग्रह गर्नुभयो । उहाँले आफूँ राष्ट्रियसभालाई राम्रो समय चलाउने तर बचेको समय विकास निर्माण र देशका अन्य सरोकारका विषयमा पनि लागिरहने प्रतिबद्धता जनाउनुभयो। 

कार्यक्रममा राष्ट्रिय समावेशी आयोगका सदस्य पुष्प तिमिल्सिना, गण्डकी प्रदेशसभाका सदस्य भक्त कुँवर, मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा, निर्वतमान अध्यक्ष प्रेम पौडेल,  उपाध्यक्ष बिमल लामिछाने, वडा नं ७ का अध्यक्ष दुर्गाप्रसाद शर्मा, निवर्तमान वडाअध्यक्ष वसन्त गुरुङलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। 

उक्त वडा कार्यालय भवन रु ६८ लाखको लागतमा निर्माण भएको थियो। भवन निर्माणका लागि रुद्रप्रसाद तिमिल्सिना र नीलकुमारी तिमिल्सिनाले दुई रोपनी ६ आना जग्गा निःशुल्क दिनुभएको थियो भने स्थानीय लोकनाथ रिजालले बाटोका लागि जग्गा प्रदान गर्नुभएको वडा कार्यालयले जानकारी दिएको छ ।