इलाम – इलामको पर्यटकीयस्थल भालुढुङ्गालाई मिनी चिडियाखानाका रूपमा विकास गर्न थालिएको छ। यस पर्यटकीयस्थलमा भालुसहित जङ्गली जनावार राख्ने तयारी भइरहेको छ।
इलाम बजारदेखि उत्तरगढी नजिकै रहेको ओढारे भालुढुङ्गा सामुदायिक वन क्षेत्रलाई स्थानीयवासीको पहलमा विकास गरिएको हो । विभिन्न ओढार र हराभरा रहेको यो सामुदायिक वनमा चिडियाखानाका रुपमा विकास गर्ने सोचअनुरुप पछिल्लो पटक तीन वटा रतुवा मृग राखिएको छ।
ओढारे भालुढुङ्गा सामुदायिक वन समूहका कोषाध्यक्ष रजिन खड्काले इलाम सवडिभिजन वन कार्यालयमा रहेका तीन रतुवा मृगलाई सामुदायिक वन समूहको संरक्षणमा राखिएको बताउनुभयो। विभिन्न क्षेत्रबाट उद्धार गरी राखिएका एक भाले र दुई पोथी रतुवा मृगलाई इलाम नगरपालिकाका पशु प्राविधिकको सहयोगमा सामुदायिक वनमा लगेर राखिएको छ। उहाँले मृग पालनका लागि इलाम नगर पर्यटन प्रवद्र्धन समितिमार्फत रु.एक लाख सहयोग भएकाले तारजालीले घेरिएको जानकारी दिनुभयो। कोषाध्यक्ष खड्काले सुरेन्द्र राईमार्फत मृगको बासस्थान निर्माणका लागि फलामे रड र प्राविधिक उपलव्ध गराइएको बताउनुभयो।
भालुढुङ्गाको नामले परीचित यो वन क्षेत्रमा निकट भविश्यमा भालुको अनुहारासमेत देख्न पाइने भएको छ। भालुपालनका लागि नगर पर्यटन प्रवद्र्धन समितिले प्रयास थालेको हो। यस्तै हाल बेण्डम जातको कुखुरा र मजक कली परेवा पनि पालिएको छ।
मृगका लागि इलाम कृषि बिज भण्डारका पशुपति भट्टराईले मासिक ५० केजी चारो उपलब्ध गराउन थाल्नुभएको छ। इलाम सदरमुकाम छेउमै रहेको भालुढुङ्गा क्षेत्रको विकासमा स्थानीयस्तरमा गठित भालुढुङ्गा पर्यटन प्रवद्र्धन विकास संस्थासमेत क्रियाशील छ। उक्त संस्थाले यो क्षेत्रलाई भविश्यमा मिनी चिडियाखानका रुपमा विकास गर्न आवश्यक सहयोग गर्ने जनाएको छ। मृग, खरायो, बाँदर, स्याल, दुम्सीजस्ता रैथाने जनावरलाई संरक्षण गरी नमुना पार्कसमेत बनाइने सामुदायिक बनका अध्यक्ष हरि गुरुङले बताउनुभयो।
भालुढुङ्गा पर्यटन क्षेत्र आसपासमा होमस्टे सञ्चालन गरिएको छ। त्यहाँसम्म जानका लागि इलाम कारागार हुँदै कालोपत्रे सडकसमेत निर्माण भइसकेको छ। इलाम बजारभन्दा नजिक रहेकाले धेरै पर्यटक सो स्थानमा जाने गरेका छन्। यस क्षेत्रलाई चिडियाखानाका रुपमा विकास गर्न स्थानीय सरकारलेसमेत सहयोग उपलब्ध गराएको छ।






प्रतिक्रिया