अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आर्थिक समृद्धिका लागि सुशासन आवश्यक: अध्यक्ष तिमिल्सिना

आर्थिक समृद्धिका लागि सुशासन आवश्यक: अध्यक्ष तिमिल्सिना


कास्की- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आर्थिक समृद्धिका लागि सुशासन अनिवार्य रहेको बताउनुभएको छ। दुर्लुङ समाज पोखराको दोस्रो साधारण सभा तथा सम्मान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो। 

उहाँले भन्नुभयो, ‘समृद्ध नेपाल त्यो पनि न्यायपूर्ण विभेदरहित समाज निर्माणको आवश्यक छ। त्यो अनुसारको प्रतिफल नपाइरहँदा जनताको मन अमिलो हुनु, विरोधको स्वर अगाडि आउनु स्वभाविक हो।’ जनताको सेवा गर्छु भनेर निर्वाचित जनप्रतिनिधिले इमान्दारपूर्वक देश र जनतालाई अगाडि सम्झेर निर्धारित आफ्ना जिम्मेवारीमा लाग्नुपर्ने उहाँले बताउनुभयो। 

पर्वत विकासमा सबै लागि पर्न उहाँले आग्रह गर्नुभयो । ‘विकास अपेक्षा र माग बढ्दै जान्छ । हिजोको प्रगतिमा चित्त बुझाइयो भने अगाडि बढ्न सकिदैन’ उहाँले भन्नुभयो, ‘नागरिकले महशुस हुनेगरी परिवर्तन आवश्यक रहेको छ । परिवर्तन केही पनि भएन भन्न मिल्दैन । केही नराम्रा कामले राम्रा कामलाई ओझेलमा पारेको छ। जति प्रगति हुनुपथ्र्यो त्यति नहुँदा गुनासो आउनु स्वभाविक हो ।’

हिजोको अवस्था हेर्दा अहिले प्रगति भएको अनुभुति हुनेगरेको उहाँले बताउनुभयो । ‘विद्यालय भवन, वडा वडामा स्वास्थ्य चौकी, पालिकामा अस्पताल बनिरहेका छन्’ उहाँले भन्नुभयो। 

साधारण सभा कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले गाउँ छाडेर सहरमा छरिएर रहेकालाई एकावद्ध समाजले बनाएको बताउनुभयो। उहाँले दुर्लुङ समाजले सुरुवात गरेको एम्बुलेन्स अभियानलाई सकारात्मक रुपमा हेरिएको सुनाउनुभयो । ‘राज्यले किनेर दिनुपर्ने ठाउँमा तपाईहरु लागि पर्नुभएको छ । एम्बुलेन्स छिटो सञ्चालनमा आउनेछ । कताकता एम्बुलेन्सको दुरुपयोग पनि हुनेगरेको समाचार आउनेगरेका छन् । त्यसमा सावधानी अपनाउनु पर्ने हुन्छ’ उहाँले भन्नुभयो । 

प्रतिनिधि सभा सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री पदम गिरीले जहाँ गए पनि मातृभूमिको जिम्मेवारी विर्सन नहुने बताउनुभयो । दुर्लुङ समाजले पोखरा आएर बसेकालाई एउटै छातामा राख्ने र दुःख सुखमा साथ दिने काम गर्न पर्ने उहाँले सुझाव दिनुभयो । 

‘भावना एकता कायम, दुःख पिरमा साथ दिने काम गर्नपर्छ । एम्बुलेन्स अभियान सुरु भएको छ। यो निजि स्तरबाट गाह्रो काम हो” उहाँले भन्नुभयो । उहाँले भन्नुभयो, ‘‘एम्बुलेन्स सञ्चालनका लागि बजेट निकै लाग्छ। तपाईहरु नआत्तिनुहोस् । केही रकम पुगेन भने हामी छौं । एम्बुलेन्स अभियानले पूर्णता पाउँछ ।’

प्रदेश सभा सदस्य मित्रलाल बस्यालले समाजले गरेको सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै एम्बुलेन्स अभियानमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । अर्का प्रदेश सभा सदस्य भक्त कुँवरले समाज गठन गरी आफ्नो जन्मथलोमा केही गर्नुपर्छ भन्नुभयो । 

प्रदेश सभा सदस्य रेखा गुरुङले जनताले देख्नेगरी काम गर्ने बताउनुभयो । कुश्मा नगरपालिका उपप्रमुख स्वास्थानी रिजालले वडामा एम्बुलेन्स नहुँदा बिरामी ल्याउन असहज भएको अवस्थामा दुर्लुङ समाजले गरेको अभियानमा हातेमालो गर्ने बताउनुभयो। उहाँले ५१ हजार रुपियाँ एम्बुलेन्स अभियानमा सहयोग गर्ने घोषणा गर्नुभयो ।