अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सांसदले प्रतिनिधि सभामा जिन्स र टिसर्ट लगाउन नपाउने निर्णय

सांसदले प्रतिनिधि सभामा जिन्स र टिसर्ट लगाउन नपाउने निर्णय


काठमाडौं – प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिले संसद बैठकमा टिसर्ट र जिन्स लगाउन नपाउने निर्णय गरेको छ।

सभामुख, उपसभामुख, कानुनमन्त्रीसहित दलका प्रमुख सचेतक र मनोनीत सांसद रहने समितिले प्रतिनिधि सभा बैठकमा सांसदहरूले मर्यादित पोशाक लगाउनुपर्ने निर्णय गरेको हो। सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिमा पोशाकलाई छलफलको विषय बनाउनु भएको थियो ।

छलफलमा सांसदहरूलाई कोट अनिवार्य गर्ने र टिसर्ट-जिन्स लगाउन नमिल्ने निर्णय भएको हो।

‘अमर्यादित पोशाक नलगाउने र मर्यादित पोशाक लगाउने बरू सांस्कृतिक पहिचान झल्कन मिल्ने पोशाक लगाउने कुरा भयो,’ संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भन्नभयो, ‘प्रतिक चिन्हको सम्मानका साथ प्रयोग गर्ने कुरा भयो।’

अमर्यादित पोशाकका बारेमा भने नियमावलीमा स्पष्ट व्यवस्था नभएको पनि उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘अमर्यादित पोशाक के हो भन्ने विषयमा भने नियमावलीमा स्पष्ट व्यवस्था छैन । सामान्यतया बुझ्दाखेरि जिन्स र टिसर्टहरू नलगाउने भन्ने कुरा हो। संसदको गरिमा कायम राख्न मर्यादित पोशाक लगाउने भन्ने कुरा भएको हो।’

नेकपा एमालेकी सांसद विद्या भट्टराईले कार्यव्यवस्था परामर्श समितिको सुझावमा सभामुखले पोशाक तोक्न सक्ने व्यवस्था प्रतिनिधि सभाको नियमावलीले गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सामाजिक सञ्जालमा पनि केहीदिन देखि प्रश्न उठेको छ। सांसदहरूले औपचारिक खालका पोशाक लगाउँदा राम्रो हुन्छ भन्ने कुरा भयो । नीति तथा कार्यक्रम पेश हुने बेला भएकाले पहिला पनि सामान्यतया औपचारिक पोशाकमा आउने भन्ने खालका कुरा हुन्थे। त्यही सन्दर्भलाई जोडेर गरिमा कायम हुने पोशाक लगाउने कुरा भयो।’

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले औपचारिक पोशाक अथवा परम्परा, संस्कृति झल्कने पोशाक लगाउने भनेर नियमावलीमा लेखिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘कसैको परम्परा झल्कने सांस्कृतिक पोशाक छ भने अगल कुरा भयो नभए कोट लगाउने, कोटमा लोगो लगाउने, कुर्ता पाइजामा लगाउने हो भने बाहिरपट्टी ‘वेस्ट कोट’ वा हाफ कोटमा लोगो लगाउने कुरा भयो । टिसर्टमा सर्टमा वा स्विटरमा वा ब्लाउजमा अनि कुर्ता वा सलवार लगाउँदा कुर्तामा लोगो नलगाउने भन्ने हो।’