अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मदन भण्डारीको आग्रहमा माधव नेपालले यसरी स्विकार्नु भयो जबज

मदन भण्डारीको आग्रहमा माधव नेपालले यसरी स्विकार्नु भयो जबज


काठमाडौं-पाँचौ राष्ट्रिय महाधिवेशनको समय थियो । महाधिवेशनको प्रचारप्रसार कमिटीको संयोजक भरतमोहन अधिकारी र त्यसको सचिव म थिए । महाधिवेशनको अपिल प्रकाशित गर्ने जिम्मेवारी समेत उक्त समितिलाई दिइएको थियो । 

विचारको खुला बहस संचालन गरिएको उक्त महाधिवेशनको अपिल विशेष हुनुपर्ने आग्रहका साथ मैले मदन कमरेडलाई लेख्न अनुरोध गर्ने प्रस्ताव भरतमोहन कमरेडसँग राखेको थिए । भरतमोहन कमरेडले त्यसमा सहमति जनाउँदै मदनसँग कुरागर्ने जिम्मेवारी मलाई नै सुम्पनु भयो । म बडो उत्साहकासाथ उहाँ बस्ने गरेको डेरामा पुगेर लेख्न अनुरोध गर्दा उहाँले तपाईँहरू जस्ता साथीहरूलाई जिम्मा लगाएको के अर्थ भयो र भन्दै लेख्न अस्वीकार गर्नुभयो ।

उहाँले म अहिले दस्ताबेज माथिको बहसको तयारीमा छु र प्राप्त सुझावका आधारमा परिमार्जन समेत गर्नुपर्नेछ भन्नु भो । अनि उहाँले तपाई आफैले लेख्नुहोस् । बरु प्रकाशन गर्नु पूर्व मलाई देखाउनुहोस् भन्नु भयो । मैले पनि मदन कमरेडको सुझाव अनुरूप उत्साहकासाथ अपिलको मस्यौदा तयार गरेर उहाँलाई देखाए । उहाँले अपिल पढेर विना कुनै संशोधन प्रकाशनका लागि अनुमती दिनु भयो । विश्वास गरेर कामको जिम्मा दिने र त्यसप्रति खुलेर भरोसागर्ने उहाँको शैली बेजोड थियो ।

सोही महाधिवेशनका सन्दर्भको मदन कमरेडसँगको अर्को प्रसंग पनि बढो रोचक छ । महाधिवेशनमा जनताको बहुदलीय जनवाद पार्टीको कार्यक्रमरुपमा प्रस्तावित थियो । पार्टी केन्द्रीय कमिटीमा अत्यन्त झिनो मतबाट उक्त कार्यक्रम छलफलको आधिकारिक दस्ताबेज बन्न पुगेको थियो । पार्टीको संस्थापन पक्षका जिम्मेवार नेताहरू समेत बहसका बेलासम्म खुलेर जबजका पक्षमा उभिन सक्नु भएको थिएन ।

पूर्वको विराटनगरदेखि खुला वहस आरम्भ गरिएको थियो । चितवनसम्म आइपुग्दा जबजका पक्षमा कार्यकर्ताको ठुलो पंक्ति पक्षमा देखिसकेको थियो । चितवनको बहसपछि माधव नेपाल जबजको पक्षमा खुल्न तयार हुनु भएछ । मदन कमरेडले माधव कमरेड जबजका पक्षमा खुलेर बोल्न तयार भएकोले काठमाडौँमा विशेष कार्यक्रमको आयोजना गर्न लगाउनु भयो । उहाँको अनुरोधमा पद्मकन्या क्याम्पसमा विद्यार्थीहरूको भेला आयोजना गरेर माधवकुमार नेपाललाई बोल्ने लगाइएको थियो । सोही भेलामा पहिलो पटक माधव कमरेड खुलेर जबजका पक्षमा बोल्नु भएको थियो ।

पाँचौ राष्ट्रिय महाधिवेशनबाट जनताको बहुदलीय जनवाद अत्यधिक बहुमतका साथ नेपाली क्रान्तिको मौलिक कार्यक्रमका रुपमा पारित भयो । पारित गराउने कुरामा समेत माधव कमरेडको सक्रियता विशेष रह्यो । जननेता मदन भण्डारीको अगुवाइमा प्रतिपादन भएको जनताको बहुदलीय जनवाद यतिवेला नेपाली क्रान्तिलाई मार्गदर्शन गर्ने सिद्धान्त बन्न पुगेको छ । सुरुको अवधिमा जबजको विचारले पार्टीभित्र समर्थन प्राप्त गर्न भएको त्यस प्रकारको कठिनाइ भएको सम्झँदा अनौठो अनुभूति हुन्छ ।

आज जेठ ३ गते जननेता मदन भण्डारी र कमरेड जीवराज आश्रितको ३०औं स्मृति दिवस । स्मृति दिवसका अवसरमा जबजका प्रतिपादक तथा कम्युनिस्ट आन्दोलनका नवीन विचारक जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जली ।