काठमाडौँ-आजदेखि काठमाडौँ महानगरपालिकामा भारतीय चलचित्र प्रदर्शन निषेध गरिएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जालमार्फत काठमाडौँ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न निषेध गर्ने बताउनुभएको छ ।
भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन ३ दिन पहिले आह्वान गरेको भए पनि सो पुरा नभएका कारण भारतीय चलचित्रको प्रदर्शन रोक्ने निर्णय गरेको उहाँले बताउनुभयो । नेपालको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह नभएको उहाँको भनाइ छ । ‘नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ । उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूति माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ । उक्त चलचित्रबाट नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ’, साहले भन्नुभयो ।
उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौँ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न निषेध गरिएको साहले स्पष्ट गर्नुभएको छ ।
संवाद फेरिने
‘आदिपुरुष’ चलचित्रमा संवाद लेखेका मनोज मुंतासिरले जनताको असन्तुष्टिलाई ध्यानमा राखेर चलचित्रमा केही संवाद परिवर्तन गरिने बताएका छन् ।
जनताको असन्तुष्टिलाई ध्यानमा राखेर यस्तो निर्णय लिइएको मनोज मुंतासिरले बताएका छन् ।




प्रतिक्रिया