अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कविता : ‘भानुभक्त’

कविता : ‘भानुभक्त’


झुल्क्यौ भानु तिमी सदा चहकिलो नक्षत्र बन्दै यहाँ
पुग्यौ बन्न तिमी अमूल्य गहना साहित्य संसारमा
घाँसीबाट तिमी प्रभावित भई लाग्यौ कला सिर्जन
पार्यौ ती कविता र काव्य सब नै जीवन्त आस्वादवान्।।

नेपाली मन यी समन्वित गरी भाषा र साहित्यले
पार्यौ एक सबै उनेर मन यी त्यो शब्द सञ्जालले
गञ्जागोल, विकार वर्णहरूको विन्यासमा जागृत
तिम्रो सक्रियता जसै बढिरह्यो भाषा बन्यो निर्मल।।

प्यारो छन्द बनाउँदै सृजनमा शार्दूलविक्रीडित
गुञ्जायौ जगतै रचेर कविता त्यो भक्तिधारासित
गाई राघवको अपार महिमा आदर्शको पाठ यो
बाँड्यौ नैतिकता र आचरण यो सत्कर्म सद्भावको।।

नेपाली नभमा विशिष्ट क्षमता अस्तित्व राख्दै अनि
श्रद्धाभाव र राष्ट्रप्रेम सबमा छर्दै उदायौ तिमी
भाषा भाव सबै परिष्कृत भई तिम्रा कला सिर्जना
गुञ्जाए सब आत्मज्ञान तिनले बाँडे मनोरञ्जन।।

भाषाको छ मिठास काव्य कृतिमा लालित्य माधूर्यको
भाषा वाङ्मयको मनोहर कला सौन्दर्य सौभाग्य यो
हाम्रो धर्म सहिष्णुता सरलता अद्वैत संस्कार यो
झल्काई कृति काव्यमा छरिरह्यौ सर्वत्र आदर्श यो।।

सामञ्जस्य र मित्रता अझ बढी आत्मीयता भावले
बाँडे मानवता र ज्ञान सतको तिम्रा सबै काव्यले
फाली यी सब वैमनस्य ,कटुता, ईर्ष्या र पीडा सबै
पार्यौ मानव सभ्य, संस्कृत अझै आदर्श ती काव्यले।।

तिम्रो आशु कवित्व तीव्र बहँदै भर्दै गयौ काव्यमा
प्रत्युत्पन्नमतित्व भाव सहजै देखिन्छ ती काव्यमा
तिम्रा ती कविता र काव्य जाति छन् सर्वोच्च रामायण
यो रामायण नै भयो अवनिमा आधार ज्ञानार्जन।।

साँच्चै भाष्करझैं तिमी चहकिला बन्दै गयौ काव्यमा
देखायौ प्रतिभा बनी सहृदयी साहित्यका फाँटमा
तिम्रा काव्य कला पवित्र, रसिला सर्वत्र छन् गुञ्जित
साथै व्यङ्ग्य कला र हाँस्य रसमा उस्तै छ पारङ्गत ।।

पायौ श्रेय यहाँ र आदिकविको सम्मान सौभाग्य यो
नेपाली मुटुमा बनी ढुकढुकी बस्ने मिल्यो भाग्य त्यो
अस्ताएर गयौ तिमी तर युगौँ जीवन्त छौ काव्यमा
हामीमाझ तिमी सदा अमर छौ मस्तिष्कमा, भावमा।

Skip This