काठमाडौं-ग्लोबल आइएमई बैंक लिमिटेडले मेसिनबाटै सोझै ग्राहकले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्न सक्ने सेवाको शुभारम्भ गरेको छ।
आज एक कार्यक्रमका बीच काठमाडौंको कमलादीमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त नयाँ सेवाको शुभारम्भ गर्नु भएको हो।
बैंकले आफ्ना ग्राहकहरुलाई नविनतम सेवा सुविधा दिने उद्देश्यका साथ बैंकमा रहेको आफ्नो वा अन्य ग्राहकको खातामा नगद रकम जम्मा गर्न रकम तथा चेक र डिपोजिट मेसिन सञ्चालनमा ल्याएको हो।
अब बैंकका ग्राहकहरूले बैंक कर्मचारीको सहयोग बिनै कुनै भौतिक फारम नभरी केवल खाता नम्बरको आधारमा मेसिनबाट सोझै नगद र चेक जम्मा गरी ग्राहकको खातामा तुरुन्तै रकम जम्मा हुने बैंकले बताएको छ। उक्त सेवाको उद्घाटन गर्दै बैंकका अध्यक्ष ढकालले ग्लोबल बैंकले आफ्ना ग्राहकहरुलाई छिटो सेवा दिने उद्देश्यले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्न सक्ने मेसिन जडान गरेको बताउनउनु भयो।
उहाँले मेसिन जडानसँगै ग्लोबल आईएमई बैंकका ग्राहकलाई तत्काल सेवा दिने र बैंकमा हुने लाइन कम गर्न सहयोग पुग्ने बताउनु भयो।
अध्यक्ष ढकालले ग्राहकहरुलाई डिजिटल रुपमा छिटो सेवा दिने कार्य अन्तर्गत मेसिनबाटै चेक र नगद जम्मा गर्ने कार्यको शुरुवात भएको बताउनु भयो । उहाँले ग्लोबल आइएमई बैंक पुँजी,सेवा,टेक्नोलोजी,नेटवर्क र पहुँच लगायत हरेक हिसावले नम्बर एक बैंक बन्ने उद्देश्यका साथ गरिरहेको काममध्ये नगद तथा चेक जम्मा गर्ने मेसिन जडान भएको बताउनु भयो।
त्यस्तै, ग्लोबल बैंकका ट्रान्जेक्सन बैंकिङ प्रमुख प्रकाश पौडेलले विश्वको डिजिटल प्रविधि हेरेर नेपालमा पनि बैंकको सेवा बैंक भन्दा बाहिरबाट दिने उद्देश्यले नगद र चेक जम्मा गर्ने मेसिनको शुरुवात गरिएको बताउनु भयो। उहाँले बैंकमा हुने चेकको कारोबारलाई ग्राहकमैत्री बनाउने हिसावले बैंकमा उपस्थित नभई मेसिनबाट चेक जम्मा गर्ने प्रविधि ल्याएको बताउनु भयो।
उहाँले नयाँ प्रणालीहरुको प्रयोगबाट नगद तथा चेक जम्मा गर्ने लगायतका सेवाहरु प्राप्त गर्न भौतिक फारम भर्नुपर्ने तथा बैंकको काउन्टरमा लाइन बस्नुपर्ने हालको अवस्था अन्त्य भई ग्राहकहरूलाई सहज सुविधा पुग्ने बताउनु भयो । उहाँले मेसिन सुरक्षाको हिसाव मजबुत रहेको बताउनु भयो ।
पौडेलले मेसिनमा चेक जम्मा गर्ने आउने मानिसको अनलाइन भेरिफाइ गरेर जम्मा गर्ने बताउनु भयो। उहाँले मेसिनबाट हुने कारोबार सबै डिजिटल रेकर्ड बस्ने भएको हुनाले भोलिको दिनमा तथ्याङ्क निकाल्न पनि सहज हुने बताउनु भयो। उहाँले नगद जम्मा गर्ने मेसिनले नोट भेरीफाई गरेर मात्रै जम्मा गर्ने प्रविधि रहेको बताउनु भयो ।
उहाँले ग्राहकहरुले मेसिनको माध्यमबाट ९५ हजारसम्म नगद जम्मा गर्नसक्ने बताउनु भयो। पौडेलले मेसिनबाट ५०० र एक हजार रुपैयाँका नोट मात्रै नगद जम्मा गर्न सकिने बताउनु भयो।
ग्राहकहरुले खाता मौज्दात, खाताको जानकारी, मिनी स्टेटमेण्ट र स्टेटमेण्ट प्रिन्ट पनि मेसिनबाट प्राप्त गर्नसक्ने बैंकले जनाएको छ। बैंकले नगद र चेक डिपोजिट मेसिन (सीडीएम) सेवा हालको लागि काठमाडौंमा ५ ठाउँमा गरेको छ। नगद जम्मा गर्ने मेसिन काठमाडौंको कमलादी र न्युरोडमा छ भने काठमाडौं भन्दा बाहिर इटहरी, नारायणघाट र बुटवलमा रहेको छ। चेक डिपोजिट कमलादी, न्युरोड, कुलेश्वर तथा उपत्यका बाहिर विराटनगर र पोखरामा रहेको बैंकले जनाएको छ।






प्रतिक्रिया