अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्मचारीलाई सभापति देउवाको धम्की: मन्त्रीले भनेको सवै कुरा मान्नुपर्छ, नत्र अप्ठेरो पर्छ

कर्मचारीलाई सभापति देउवाको धम्की: मन्त्रीले भनेको सवै कुरा मान्नुपर्छ, नत्र अप्ठेरो पर्छ


काठमाडौँ-नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीहरुले निष्पक्ष रुपमा काम गर्नुपर्ने बताउनु भएको छ।

नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसका सन्दर्भमा आज ‘कर्मचारी’ पुस्तकको विमोचन कार्यक्रममा उहाँले कर्मचारीले व्यक्तिगत रुपमा विचार जुनसुकै अपनाए पनि सरकारको कुरा मान्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

सभापति देउवाले भन्नुभयो, “राजनीति र कर्मचारीतन्त्रबीचको द्वन्द्व विश्वमै हुने गरेको देखिन्छ, तर सन्तुलन कायम गरेर मिलाएर लैजानुपर्छ। निजामती कर्मचारी युनियन प्रजातान्त्रिक युनियन हो। अरूले आफ्नो पार्टीले जे भन्यो त्यही गर्ने गरेका छन्, हामीले त्यस्तो गर्नुपर्छ भन्ने छैन, निष्पक्ष काम गर्नुपर्छ, त्यही रुपमा अघि बढ्नुस्।”

राजनीति र कर्मचारीतन्त्रबीच राम्रो सम्बन्ध हुनुपर्ने उल्लेख गर्दै सभापति देउवाले कर्मचारीतन्त्र नभई देश नचल्ने बताउनुभयो। उहाँले कर्मचारीले सरकारको भनेको मान्नुपर्ने र कतिपय चित्त नबुझेका विषय भन्नुपर्ने बताउनुभयो। राजनीति र कर्मचारीतन्त्रबीच आपसी समन्वय र सहयोग हुनुपर्ने सभापति देउवाको भनाइ थियो।

फरक प्रसङ्गमा सभापति देउवाले नेपालमा जलविद्युत् उत्पादनको सम्भावना धेरै भएको उल्लेख गर्दै जलविद्युत् खरिदकर्ता छिमेकी मुलुक भारत भएकाले उसको कुरा सुन्नुपर्ने बाध्यता छ भनुभयो । उहाँले भन्नुभयो, “साथी बदल्न सकिन्छ, तर छिमेकी बदल्न सकिँदैन । तसर्थ चीन र भारत दुवै छिमेकीसँग राम्रो सम्बन्ध बनाइरहनु आवश्यक छ । सन्तुलन मिलाएर अघि बढ्नुपर्ने हुन्छ। यो हाम्रो आवश्यकता र बाध्यता हो, यसमा हाम्रो बुद्धिमता पनि छ ।”

कार्यक्रममा कांग्रेस नेता डा शेखर कोइरालाले राजनीति गर्ने सबैले कमर्चारी जुनसुकै आस्था र विचारका भए पनि स्थायी सरकार हो भन्ने बुझ्नुपर्ने उल्लेख गर्दै कर्मचारीलाई सेवासुविधा र वृत्तिविकासका विषयमा खुसी राख्न सकेमात्र सफलता प्राप्त हुने धारणा व्यक्त गर्नुभयो । पार्टीले कर्मचारीको मनोबल उच्च राख्न आवश्यक सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं कांग्रेसका नेता रामहरि खतिवडाले निजामती सेवासम्बन्धी कानुन छिट्टै ल्याउन लागेको र यसमा सबैलाई समेट्ने प्रावधान हुने तथा एकाधिकारका प्रावधान नहुने स्पष्ट पार्नुभयो। उहाँले आवश्यक सुझावका लागि आग्रह गर्दै सुशासन कायम गराउन प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। 

कांग्रेस सहमहामन्त्री जीवन परियारले राजनीति गर्ने व्यक्ति ठीक भएमात्र कर्मचारीतन्त्र ठीक हुने र मुलुकमा सुशासन कायम गर्न पद्धति नै विकास गर्नुपर्ने बताउनुुभयो । युनियनका कार्यवाहक अध्यक्ष उत्तमकुमार कटुवालले कर्मचारीका समस्याका बारेमा अवगत गराउँदै कर्मचारीसँग सम्बन्धित आवश्यक कानुन यथाशीघ्र अघि बढाउनका लागि सहयोग गर्न आग्रह गर्नुभयो।  

Skip This