अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाबा

बाबा


       

बाबाको महिमा अपार छ यहाँ संसार देखाउने
आफ्ना सन्ततिको भलाइ सुखमा सारा जुनी अर्पिने
आमाको जति देन त्याग छ सदा सन्तान हुर्काउन
बाबाको अझ धेर त्याग रहने त्यो दिव्य चोला दिन ।।

बोकी भार गह्रौँ सदा पिठिउँमा हड्डी गलायौ सबै
हाम्रा लागि भनी सदा कठिनमा चोला बितायौ कठै
शिक्षा, प्रेम दियौ, दियौ सब खुसी सन्तानलाई सधैँ
मुस्काई अनुहारमा पिर,व्यथा भित्रै लुकायौ सबै ।।

बग्छन् निर्झर ती अमूल्य पसिना धारा नुहाएसरि
फाटेका सब वस्त्र छन् वदनमा खाली छ खुट्टा पनि
भोको पेट छ सन्च छैन जिउमा खट्छौ तिमी तैपनि
हाम्रा लागि भनी सदा खटिरह्यौ साक्षात् परात्मा बनी।।

साँचो यो ममता लिएर मनमा सन्तानका खातिर
जिम्मेवार बनी हरेक पलमा बन्दै गयौ रक्षक
हाम्रो भाग्य बनाउने लहडमा आफ्ना खुसी बिर्सियौ
त्यो सानो झुपडी सधैँ महलझैँ पार्ने तिमी ईश हौ।।

आफ्ना स्वप्न सबै भुलेर यसरी सन्तानका माग यी
पूरा गर्न सधैँ तिमी खटिरह्यौ सङ्घर्ष, पीडा सही
बोलीमा छ कठोरता तर त्यहीँ माया छ त्यो निश्छल
तिम्रो त्यो अभिभावकत्व छ सदा सन्तानमा आखिर ।।

बाबा ! ज्ञान र सान हौ, गगन हौ, आदर्श संस्कार हौ
आस्था जीवन कर्म पद्धति दिने हर्ता र कर्ता रह्यौ
दाना अन्न बन्यौ र भोक सबमा छायाँ बन्यौ घाममा
सहारा परिवारको बनिरह्यौ खप्दै सबै वेदना ।।

काँप्दै थर्थर जीर्ण जीवन लिई हिँड्छौ नि ऐले तिमी
रोगायौ, थलियौ तथापि मनमा माया कमी छैन नि
बाबा भेट्न भनी म जान्छु जहिले त्यो माइतीको घर
बाबाको अनुहार जीर्ण तन त्यो देख्दा छु है व्याकुल ।।

मीठो त्यो मृदुभावले, वचनले, माया र सम्मानले
न्यानो साथ दिए सधैँभर यहाँ बाबा र आमा दुबै
बाचुञ्जेल सदा खुसी र सुखमा रम्ने अवस्था हुँदा
हुन्थ्यो स्वर्गसमान त्यो घर सधैँ बन्थे सबै देवता ।।