काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका पुग्नुभएको छ। संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड अमेरिका पुग्नुभएको हो।
प्रधानमन्त्री दाहाललाई परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गर्नुभयो। प्रधानमन्त्रीको स्वागतमा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत सरकारी अधिकारीहरू उपस्थित हुनुहुन्थ्यो।
प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घको महासभालाई असोज ४ गते सम्बोधन गर्ने कार्यतालिका रहेको छ। यसपटकको महासभामा प्रधानमन्त्रीले ‘विश्व समुदायको विश्वास पुनः जागृत गर्ने तथा शान्ति, समृद्धि र सबै दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धताबारे’ सम्बोधन गर्नुहुनेछ।
न्युयोर्कमा रहँदा उहाँले संयुक्त राष्ट्रसङ्घको दिगो विकास र जलवायुसम्बन्धी शिखर सम्मेलनलगायत कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ।
महासभाकै क्रममा प्रधानमन्त्री दाहालले विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूसँग ‘साइडलाइन’ भेटघाट गर्नु हुनेछ। राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुहुने स्वागत समारोहमा प्रधानमन्त्री दाहाल सहभागी हुनुहुनेछ।






प्रतिक्रिया