काठमाडौं-काठमाडौंदेखि भक्तपुरसम्म द्रुत बस सेवा सुरू भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा बुधबारदेखि रत्नपार्कदेखि सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालनमा आएको हो।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले रत्नपार्कको शान्तिवाटिकाबाट उक्त बस सेवाको शुभारम्भ गर्नुभयो।
उक्त बसका लागि ‘डेडिकेटेड’ लेनको व्यवस्था गरिएको छ। बिहीबारदेखि कार्यालय समयमा बिहान ९ देखि ११ र अपराह्न ४ देखि ६ बजेसम्म द्रुत सेवाका बस सञ्चालनमा आउनेछन्।
काठमाडौँ उपत्यकाको यातायात क्षेत्रमा सुधार ल्याउने उद्देश्यले द्रुत बस सेवा सञ्चालनमा ल्याएको सरकारले जनाएको छ। रत्नपार्कदेखि सूर्यविनायकसम्म १३ दशमलव ४ किलोमिटर दूरी रहेको छ।
निर्धारित समयका लागि ४० सिट क्षमताका २५ बस छुट्याइएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले जानकारी दिए। कार्यालय समयमा अहिले सार्वजनिक यातायातमा यात्रा गर्दा सूर्यविनायकदेखि रत्नपार्कसम्म करिब दुई घण्टा लाग्दै आएको छ।
रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, कोटेश्वर जडीबुटी, कौशलटार, गट्ठाघर, चारदोबाटो, सूर्यविनायकलगायत १९ स्थानमा बस स्टप रहनेछ। त्यहाँबाट उक्त बस चढ्न र ओर्लन सकिनेछ।






प्रतिक्रिया