काठमाडौं-साता लामो आयरल्याण्ड भ्रमणमा निस्कनुभएका सभामुख देवराज घिमिरेले द्विपक्षीय भेटघाट सुरु गर्नुभएको छ। उहाँले मंगलबार साँझ माथिल्लो सदन सिनड एरियनका अध्यक्ष जेरी बटाइमरसँग शिष्टाचार भेट गर्नुभएको छ।
भेटमा दुई देशबीच संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराईले जानकारी दिनुभयो। उहाँका अनुसार भेटमा सभामुख घिमिरेले दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको २४ वर्षमा उच्चस्तरीय भ्रमण, सहयोग आदान प्रदान लगायतका काम भएको स्मरण गर्नुभएको थियो।

सभामुख घिमिरेले विगत केही वर्षयता नेपाल र आयरल्याण्डबीच उच्चस्तरीय सम्बन्ध एवं सम्पर्क गहन हुँदै गएको बताउनुभयो। उहाँले सन् २०१९ सेप्टेम्बरमा आयरल्याण्डको प्रतिनिधि सभाका सभामुखको नेपाल भ्रमणले दुई संसदबीचको सम्बन्धलाई घनिष्ट बनाएको उल्लेख गर्नुभएको थियो।
सिनड एरियनका अध्यक्ष जेरी बटाइमरले संसदीय आदानप्रदानलाई दुवै देशले महत्वका साथ अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो। उहाँले सुरक्षा परिषदमा नेपालले आयरल्याण्डलाई समर्थन गरेकोमा धन्यवाद दिनुभएको थियो।
नेपालको शिक्षा तथा पर्यटनका क्षेत्रमा आफ्नो मुलुक लगानी गर्न इच्छुक रहेको अध्यक्ष बटाइमरले जानकारी दिनुभएको थियो ।




प्रतिक्रिया