अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आर्थिक सङ्कट समाधान गर्न एसियाली मुलुकबीच सहकार्य आवश्यक छ: चन्द्र ढकाल

आर्थिक सङ्कट समाधान गर्न एसियाली मुलुकबीच सहकार्य आवश्यक छ: चन्द्र ढकाल


काठमाडौँ-नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले हाल विश्वमा देखापरिरहेको आर्थिक सङ्कटको समाधानका लागि एसिया प्रशान्त क्षेत्रका मुलुकहरूका बीचमा सहयोग तथा सहकार्य हुनुपर्नेमा जोड दिनुभएको छ।

हाल विश्वका विभिन्न स्थानमा विविध विषय र क्षेत्रका अलग–अलग समस्या उत्पन्न भइरहेका र यसका कारण बहुआयामिक चुनौतीहरू देखापरेकाले ती समस्याको समाधान गर्न एसियाली क्षेत्रमा सहकार्य र सहयोग हुनुपर्नेमा जोड दिनुभएको हो।

जापानको राजधानी टोकियोमा आयोजित एसियन रोजगारदाता सम्मलेनलाई आज सम्बोधन गर्दै अध्यक्ष ढकालले शान्ति र स्थायित्वबिना कुनै पनि समस्या समाधान गर्न सहज नहुने भन्दै सबै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभएको नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अध्यक्ष ढकालले दिगो आर्थिक वृद्धि, रोजगारी सिर्जना, श्रम आप्रवासन र सीप विकासलगायत एसिया प्यासिफिक क्षेत्रका साझा लक्ष्यहरू दोहोर्याउँदै, यस क्षेत्रका मुलुक र निजी क्षेत्रबीचको सहकार्य र सवन्वयबाट मात्र यी चुनौतीको सामना गर्न सकिने बताउनुभयो ।

ढकालले द्रुत ‘डिजिटलाइजेसन’ र व्यवसाय सञ्चालनमा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०को एकीकरणतर्फ पनि ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले सम्भावित असमानताहरूलाई न्यूनीकरण गर्न श्रमिकको सीप विकास तथा क्षमता अभिवृद्धि गर्नुपर्ने बताउनुभयो ।
ढकालले आर्थिक वृद्धि, रोजगारी सिर्जना, साना तथा मझौला उद्यमलाई सहयोग, सामाजिक सुरक्षा, सीप विकास तथा सामाजिक संवादको सुदृढीकरणमा नेपाल प्रतिबद्ध रहेकोसमेत बताउनुभयो ।

नेपालमा लगानीको वातावरण सुधार हुँदै गएको र लगानीको प्रचुर सम्भावना रहेको बताउँदै अध्यक्ष ढकालले दुई ठूला र उदीयमान मुलुक चीन र भारतको बीचमा रहेकाले नेपालमा बजारको ठूलो सम्भावना रहेको पनि बताउनुभयो । उहाँले नेपालको जलविद्युत्, पर्यटन पूर्वाधार विकासको क्षेत्र फस्टाउँदो रहेको र यी क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको बताउनुभयो ।

Skip This