अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सवारी दुर्घटना हुन नदिन चालकले ध्यान दिनुपर्ने विषय

सवारी दुर्घटना हुन नदिन चालकले ध्यान दिनुपर्ने विषय


काठमाडौँ-आजभोलि दिनहुँजसो सडक दुर्घटनाका समाचारहरु आइरहेका छन्। सडक दुर्घटनामा ज्यान गएको, घाइते तथा अङ्गभङ्ग भएका खबरहरु आइरहेका छन्। दसैंको समय यात्रुहरुको चाप उच्च भएसँगै सवारीसाधनको सङ्ख्या र आवागमन पनि वृद्धि हुनु स्वभाविक हो। सिमित सडक पूर्वाधार, बढ्दो यात्रुको चाप र सवारीसाधनको अविश्राम आवतजावतले सडक दुर्घटना निम्तिने गरेको तथ्यले देखाएको छ।

सार्वजनिक यातायात क्षेत्रका लागि दसैं एउटा अवसर हो। अरु समय यात्रुको चाप हुँदैन, नियमित सवारीसाधन गुडाउन पाइदैन। दसैंका समय निरन्तर यात्रु ओसारपसार भइरहने हुँदा सवारीसाधनको नियमित चेकजाँच गर्न भ्याइरहेको हुँदैन। अविश्राम काम गरिरहँदा चालक थाकेका हुन्छन्। थकान, तनाव, हतारो, यान्त्रिक गडबडी, सीमित सडक पूर्वाधार र सवारीसाधनको अधिक चापले सडक दुर्घटना हुने गरेको छ।

सडक दुर्घटना न्यूनीकरण देशको चासोको विषय हो, सबैको सरोकारको विषय हो। तर, सूर्योदयदेखि राति अबेलासम्म सडकमा जीवन खोजिरहने चालकका लागि अरुको भन्दा बढी जरुरतको विषय हो सडक सुरक्षा। तसर्थ चालकहरुले निम्न विषयहरुलाई पालना गर्नसक्यो भने सडक दुर्घटनामा क्रमशः न्यूनीकरण हुनेछ।

आफू सुरक्षित हुनुस्: शारीरीक, मानसिक रुपमा म ठीक छु, म स्वस्थ छु, यो सवारीसाधनलाई म गन्तव्यसम्म सुरक्षित पु¥याउन सक्छु भन्ने महसुस गर्नुस्। 

तीव्र गति, जीवनको क्षति भन्ने कुरा सम्झी रहनुस्: तीव्र गतिकै कारण सडक दुर्घटना बढिरहेको तथ्यले देखाएको छ। केही समय ढिला भएपनि धैर्य गर्नुस्, तीव्र गतिमा सवारी नचलाउनुस्। ढिला गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न भन्ने उखानलाई सम्झिनुस्, दुर्घटनामा ज्यान गएका अङ्गभङ्ग भएका, दुर्घटनाकै कारण जेल परेका मजदूरका दर्दनाक व्यथा सम्झनुस्।

सवारीसाधन चलाइरहँदा मोबाइलमा कुरा गर्र्दै नगर्नुस्:  पलभरको सानो गल्तीले सडक दुर्घटना हुने गरेको छ, जनधनको क्षति हुने गरेको छ। सवारीसाधन चलाइरहेको समय मोबाइलमा कुरा गर्दै नगरौं। महत्वपूर्ण फोन आएको अवस्थामा सवारीसाधन रोकेर कुरा गर्ने वा गन्तव्यमा पुगेर कलब्याक गरेर कुरा गर्ने बानी बसालौं।

क्षमता भन्दा बढी यात्रु नचढाउनुस्: सवारीसाधनमा क्षमताभन्दा बढी यात्रुलाई कोचाकोच नचढाउनुस्। छोटो दूरीमा बाहेक लामो दूरीमा उभ्याएर यात्रा नगराउनुस्। अधिक भिडभाड गराएर यात्रा नगराउनुस्।

दवाब र तनाबमा काम नगर्नुस्: काम नगरी हुँदैन भन्ने दवाबमा काम नगर्नुस् र तनाब छ भने पनि काम नगर्नुस्। दवाब र तनाबमा सवारीसाधन चलाउँदा पनि सडक दुर्घटनाहरु हुने गरेको अध्ययन देखाएको छ । चालक आफू मात्रै खुशी होइन, आफूले चलाएको सवारीसाधनमा यात्रा गर्ने अन्य यात्रुलाई पनि हँसाएर रोमाञ्चित बनाएर सवारी चलाउनु पर्दछ।

बढी भाडा नलिनुस्: यात्रुहरुबाट तोकिएको भन्दा बढी भाडा लिँदै नलिनुस्। यात्रुहरुबाट बढी भाडा असुल गरेको पाइएमा कानुनले दण्डित गर्ने व्यवस्था गरेको छ। त्यस्तो अपराध नगर्नुस्।

समयलाई महत्व दिनुस्: सवारीसाधन छुट्ने समयलाई ध्यान दिनुस्। एउटै रफ्तारमा सवारीसाधन चलाउनुस्। कतै तीव्र कुदाउने, कतै लामो समय रोकेर राख्ने नगर्नुस् । दुर्घटनाग्रस्त क्षेत्रहरुमा संयम भएर हिड्नुस्। 

ट्राफिक नियम र सडक अनुशासनको पालना गर्नुस्: हाम्रो राजमार्ग मृत्यु मार्ग जस्तै भएका छन्, सडक दुर्घटनामा ज्यान जानेको संख्या कहाली लाग्दोछ। अधैर्य र जवरजस्त सडक प्रयोगकर्ता चालक (निजी तथा सार्वजनिक सवारीसाधनका चालक)का कारण सडक दुर्घटना वृद्धि भइरहेको छ। कमसेकम आफुलाई जिम्मेवार चालकका रुपमा परिचय बनाउनुस्। ट्राफिक सङ्केतको पालना गर्नुस्, ट्राफिक नियमको अनुशरण गर्नुस्। ट्राफिक नियम र सडक अनुशासनमा इमान्दार बन्नुस्।

खानपानलाई व्यवस्थित गर्नुस् स् मादकपदार्थ सेवन (मापसे) र लागुपदार्थ सेवन (लापसे)बाट टाढा रहनुस्। हाम्रो कानुनले ड्रिङ्क्स् एण्ड ड्राइभलाई गैरकानुनी मान्दै दण्ड सजायको व्यवस्था गरेको छ। यसको खासकारण सडक दुर्घटना नै हो। तसर्थ, यो अक्षम्य अपराध नगर्नुस्, सक्नुहुन्छ मापसे मुक्त हुनुस्, सक्नु हुन्न काम गरिरहेको समय यसबाट टाढा रहनुस्।

काम र जीवनलाई सन्तुलित गर्नुस्: आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन श्रमिकहरुको जीवनसँग जोडिएका सन्दर्भ हुन्। आरामबिनाको निरन्तर कामले स्वास्थ्यमा असर पार्छ। यसका कारण दुर्घटना निम्तिन्छ। तपाइँ र तपाइँको हातमा रहेका यात्रुहरुको जीवनमा असर पार्छ। तसर्थ काम र जीवनलाई सन्तुलन मिलाउनुस् । कामपछि परिवारसँग समय बिताउनुस्, सभ्य बोल्नुस्।

महिला, बालबालिका र बृद्धबृद्धालाई सम्मान गर्नुस्: तपाइँले चलाइरहेको सवारीसाधनमा महिला, बृद्धबृद्धा, बालबालिका, अशक्त र फरक क्षमताका यात्रुहरु हुन सक्छन्। उनीहरुको क्षमता र समस्याहरु तपाइँ हामीभन्दा फरक हुनसक्छ। सकेसम्म उनीहरुलाई सहयोग गर्नुस् सकिएन भने पनि कमसेकम सम्मान गर्नुस्। उनीहरु हाम्रो छोरी, छोरा, आमा, बुबा, श्रीमती वा परिवार जस्तै हुन सक्छन् भन्ने सम्झिनुस्।

गुणस्तरहीन खानेकुरा बिक्री गर्ने होटलमा यात्रु नलानुस्: यात्राका क्रममा बाटोमा यात्रुलाई चिया, खाजा र खाना खुवाउने लाइन होटलहरु जसले स्वस्थ र गुणस्तरीय खानपान गराउँछन्, त्यस्ता होटलमा मात्रै सवारीसाधन रोक्नुस्। जनस्वास्थ्यमा खेलवाड गर्ने र जनतालाई ठगी गर्ने लाइन होटलहरुमा सवारीसाधन रोक्दै नरोक्नुस्।

यात्रुमैत्री हुनुस्: सार्वजनिक यातायातको यात्रा पीडादायी हुन्छ भन्ने अनुभूत गर्नुस्। सबैको स्वास्थ्य एकनासको हुँदैन कतिपय यात्रुहरु मधुमेह, रक्तचापका रोगीहरु हुन्छन्, बृद्धबृद्धाहरु, महिला, बालबालिका र अशक्तहरु हुन्छन्। उनीहरुलाई समय समयमा शौचालय आवश्यक पर्नसक्छ भन्ने विषय हेक्का राख्नुस्। 

लाइसेन्स र कागजपत्र साथमा राख्नुस्: तपाइँको साथमा सवारीसाधनको ब्लु बुक, जाँचपास, रुटपरमिट, चालक अनुमति पत्र ९लाइसेन्स० बिमाको कागजलगायत साथमा राख्नुस्। बाटोमा चेकजाँच गर्ने अधिकारीले कागजातहरु माग गरेमा देखाउनुस्। कुनै किसिमको समस्या भए वादविवाद नगर्नुस्। कागजपत्र जफत गरिए सम्बन्धित प्रालि वा सङ्घ, सङ्गठनलाई जानकारी गराउनुस्।

सवारीसाधनको अवस्था चेक गर्नुस्: सुरक्षित यात्राका लागि सवारीसाधन ठीक हुनु पर्छ। हामीले चलाउने सवारीसाधन ग्यारेजबाट निकाल्नु अघि र ग्यारेजमा राख्ने समयमा सवारीसाधनको अवस्थाको चेकजाँच गर्नुस् । मोबिल, पानी, इन्धन, ब्रेक, टायर, टाइरड, इन्जिन, अतिरिक्त टायरलगायत अत्यावश्यक र महत्वपूर्ण पार्टपुर्जाहरु राम्ररी चेकजाँच गर्नुस्। आफूले चलाउने सवारीसाधनको अवस्थालाई सधैँ ठीक अवस्थामा राख्नुस्।

नेपालमा सडक दुर्घटनाको डरलाग्दो रुप: सडक दुर्घटनामा प्रत्येक वर्ष नेपालमा दुई हजार आठ सय ८० जनाको ज्यान गइरहेको छ । सडक दुर्घटनामा परेर प्रत्येक वर्ष १४ हजार ४ सयको हाराहारीमा घाइते भइरहेका छन्। दसैँ तथा चाडपर्वका समय सडक दुर्घटनामा वृद्धि हुने गरेको छ। सडक दुर्घटनाका मुख्य कारणहरु निम्न प्रकार छन्।

भौतिक कारणस् पर्याप्त सडक पूर्वाधार नहुनु, मापदण्डविपरीत प्रविधिविहीन सडक र अत्यधिक सवारीसाधनको चाप सडक दुर्घटनाको कारण बनेको छ।

मानवीय कारणस् मानवीयअन्तर्गत चालक, पैदलयात्री तथा सडक उपभोक्ताहरु पर्दछन्। सडक प्रयोग गर्दा उनीहरुसँग हुनु पर्ने चेतना, ज्ञान, सीप र अनुभवहरुका कारण सडक दुर्घटना निम्तिने गर्दछ।

यान्त्रिक कारणस् सुरक्षित यात्राका लागि सवारीसाधन उपयुक्त हुनु पर्दछ। अवस्था राम्रो हुनु पर्दछ। यान्त्रिक रुपमा सवारीसाधन ठिक हुनु आवश्यक छ।

पर्यावरणीय कारण स् कुनै वस्तु, विषय, व्यक्ति आदिको स्थिति वा वातावरण पनि दुर्घटनाको कारण हो। साथै हावा, पानी, आँधिहुरी, बाढी, पहिरो हुस्सु, कुहिरो आदिका कारण सडक दुर्घटना हुने गरेको छ।

अन्त्यमा, सडक दुर्घटना न्यूनीकरण मजदूरहरुको एकल प्रयासबाट मात्रै सम्भव छैन। यसो भनेर हामी गैरजिम्मेवार हुन मिल्दैन । सडक दुर्घटनाको सामाजिक, आर्थिक र मानवीय असरलाई हामी श्रमिकहरुको तर्फबाट एउटा प्रयत्न भयो भने सबैलाई फाइदा हुनेमा दुईमत छैन ।

(लेखक नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनका केन्द्रीय अध्यक्ष हुनुहुन्छ।)