अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अब चिनीको अभाव नहुने, तीन हजार मेट्रिकटन पठाइयो बजारमा

अब चिनीको अभाव नहुने, तीन हजार मेट्रिकटन पठाइयो बजारमा


काठमाडौँ-तिहारको समयमा चिनीका अभाव हुन नदिन एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाउन थालिएको छ । 

विभिन्न पेय पदार्थ उत्पादक कम्पनीका नाममा बिक्री भएर उद्योगमै मौज्दात रहेको उक्त परिणामको चिनी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको सक्रियतामा खुद्रा व्यापारीमार्फत बजारमा पठाउन लागिएको हो ।

आज गुह्वेश्वरी ट्रेड लिङ्कमार्फत एक सय ६० बोरा चिनी क्षेत्रपाटी, शोभाभगवती, पकनाजोल र नरदेवीलगायत क्षेत्रका खुद्रा पसलमा बिक्रीका लागि पठाइएको नेपाल खुद्रा व्यापार सङ्घका कार्यवाहक अध्यक्ष नरेश खड्गीले राससलाई जानकारी दिनुभयो । भोलि काठमाडौँका भित्री सहरका पसलमा थप छ सय बोरा चिनी पठाइने उहाँले जानकारी दिनुभयो ।

सङ्घले उपलब्ध गराएको चिनी खुद्रा व्यापारीले प्रतिकिलो रु एक सय १७ बिक्री गर्नेछन् । “हामीले सङ्घका सदस्य व्यापारीलाई चिनी प्रतिकिलो रु एक सय १७ मा बिक्री गर्न निर्देशन दिएका छौँ”, उहाँले भन्नुभयो, “उपभोक्ताले चिनीका लागि निर्धारित मूल्यभन्दा बढी तिर्न पर्दैन ।”

सङ्घले उपलब्ध गराएको चिनी पाइने सूचना प्रत्येक पसलमा टाँस गर्न व्यवसायीलाई आग्रह गरिएको उहाँको भनाइ छ । काठमाडौँ उपत्यकामा एक हजार सात सय बढी खुद्रा व्यापारी सङ्घमा आबद्ध छन् ।

वाणिज्य विभागमा महानिर्देशक तीर्थराज चिलुवालले अब बिस्तारै चिनीको अभाव हट्दै जाने बताउनुभयो । खुद्रा व्यवसायीले लागत मूल्यमा नै चिनी बिक्री गर्ने उहाँले जानकारी दिनुभयो ।

यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको सरोकारवालाको बैठकले बजारमा चिनीको अभाव हुन नदिन सबै रणनीति अख्तियार गर्ने निर्णय गरेको विभागका महानिर्देशक चिलुवालले जानकारी दिनुभयो । बैठकले अवैध ढङ्गले नेपाली बजारमा चिनी भित्रिएको र चर्को मूल्यमा करछली गर्दै बजारमा पठाइने गरेको निष्कर्ष निकाल्दै चिनीको कालोबजारी रोक्न राज्यका सम्पूर्ण निकायलाई परिचालित गर्ने निर्णय गरेको थियो ।

नेपाल प्रहरीले नेपालमा रहेका सबै चिनी उद्योगको मौज्दात अवस्था जाँच गर्ने र मौज्दात चिनी बजारमा पठाउन उद्योगीसँग छलफल गर्ने, अवैध ढङ्गले भित्रिएका वा गोदाममा थन्किएको चिनीको खोजीका लागि अनुगमन गर्ने निर्णय बैठकले गरेको महानिर्देशक चिलुवालले जानकारी दिनुभयो ।

Skip This