अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देवचुली पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा सरकारको ध्यान जाओस्: विद्रोही गिरी

देवचुली पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा सरकारको ध्यान जाओस्: विद्रोही गिरी


कावासोती-पर्यटकीय क्षेत्रको सम्भावना रहेका ठाउँहरूको पूर्वाधार विकासमा सरकारले ध्यान दिनुपर्ने युवा नेता विद्रोही गिरीले बताउनुभएको छ।

देवचुली डाँडा पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना भएर पनि पूर्वाधार निर्माण नहुँदा ओझेलमा परेको भन्दै उहाँले तीन वटै तहका सरकारले पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउनु भयो।

नवलपुरको देवचुली-६ किर्तिपुरमा आयोजित देवचुली डाँडा पर्यटन सप्ताहमा पर्यटनको सम्भावना र युवा नेतृत्व विषयमा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो।

देवचुली डाँडा नवलपुरको सबैभन्दा अग्लो डाँडा एक हजार नौ सय ३६ मिटर अग्लो रहेको छ। महाभारत पर्वत श्रृङ्खला अन्तरगतको यो डाँडा थारु समुदायको आस्थाको केन्द्र हो। मगर र थारु समुदायको सांस्कृतिक पक्ष संग जोडिएको देवचुली डाँडा पर्यटकीय क्षेत्रको सम्भावना रहेकाले यसको ऐतिहासिक, धार्मिक र पुरातत्वका हिसावले खोज र अनुसन्धान जरुरी छ युवा नेता गिरीले भन्नुभयो, ‘स्थानीय स्तरबाट संरक्षण र प्रचारको थालनी भएको छ पूर्वाधार निर्माणमा सरकारले बजेटको व्यवस्था गर्नुपर्छ।’

देवचुली सम्म पुग्ने सिंढी सहित पैदल मार्ग निर्माण, खाने पानीको व्यवस्था, होडिङ्ग बोर्ड, उज्यालोको व्यवस्था, तीन कन्या माइको मन्दिर निर्माण, गुफाको संरक्षण लगाएतका काम तत्काल गर्नुपर्ने गिरीले बताउनुभयो। स्थानीय स्तरबाट देवचुली डाँडा संरक्षण तथा पर्यटकीय क्षेत्र निर्माण समिति बनाएर काम थालेको भए पनि पूर्वाधार विकासमा तीनै तहका सरकारले पर्याप्त बजेटको ब्यवस्थापन गर्न नसकेको गुनासो उहाँले गर्नुभयो।

यूवाहरुलाई पर्यटनको क्षेत्रबाट रोजगारमा ल्याउन सकिने भएकाले पर्यटनको विकास र कृषि उत्पादनमा यूवाहरु जोडिनुपर्छ गिरीले भन्नुभयो, ‘अघिल्लो पुस्ताका राम्रा कुराहरु अनुशरण गर्दै युवा पुस्ताले थप सृजनात्मक ढङ्गबाट समाजको नेतृत्व गर्नुपर्छ।’ देवचुली डाँडामा अहिले ट्रेकिङ्गमा जानेको संख्या बढ्दै गएको छ।

होमस्टे महासंघका अध्यक्ष प्रेमशंकर मर्दनीय थारुले पर्यटकीय गन्तब्यको विकासले रोजगारी सृजना गर्ने भएकाले आफ्नो ठाउँको प्रचार प्रसार र उत्पादनमा ध्यानदिनुपर्ने बताउनुभयो। नवलपुर पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले यसको विकासमा सबै हातेमालो गरेर अगाडि बढ्नु पर्नेमा उहाँको जोड थियो।

कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्माले देवचुलीको महत्व उजागर भएकाले यसको विकासमा लाग्नुपर्ने आवश्यकता महसूस भएको बताउनुभयो । देवचुली कै पूर्व प्रमुख प्रशासकीय अधिकृत मोहन मरासिनीले किर्तिपुर क्षेत्र देवचुलीका काख भएकाले आफू देवचुलीमा रहँदा यसको विकासमा कार्यथालनी गरेको बताउनुभयो।

देवचुली नगरपालिकाका वडा-१० का अध्यक्ष रेप्तीबहादुर घर्तीले नगरपालिकाले पूर्वाधार विकासमा सक्दो काम गर्ने बताउनुभयो। वडा-६ का अध्यक्ष मीनबहादुर सोतीले देवचुली डाँडाका कारण थारु र मगरको सम्बन्ध स्थापित भएकाले यो संस्कृति बचाइ राख्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा देवचुली जेसिजका नारायण पौडेलले सहजीकरण गर्नु भएको थियो।