काठमाडाैँ-श्रीमान्का हत्यारालाई दिइएकाे आममाफी सर्वाेच्च अदालतले बदर गरिदिएको भोलिपल्टै भारती मानन्धर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकाेट पुग्नुभएकाे छ।
आज (शुक्रबार) बिहान भारती अध्यक्ष ओलीलाई भेट्न बालकाेट पुग्नु भएको हाे । हिजो सर्वाेच्च अदातले भारतीका श्रीमान चेतन मानन्धरका हत्यारा योगराज ढकाल ‘रिगल’ ले पाएको आममाफी बदर गरेको थियो। अध्यक्ष ओलीसँगको भेटका क्रममा भारतीले न्यायको लडाइँमा साथ दिएकोमा धन्यवाद दिनुभयो । ओलीले आफू नेपालगञ्ज जाँदा त्यतिबेलाको घटना सुनेपछि नै कैद मिनाहा गर्ने सरकारको निर्णयको विरोध गरेको बताउनु भयो।
‘सरकारले गरेको अन्यायविरुद्ध म सधैँ साथमा छु’, एमाले अध्यक्ष ओलीले भारतीलाई सान्त्वना दिँदै भन्नुभयो, ‘स्वास्थ्यको ख्याल गर्नू । बेहोस भइरहनुहुँदो रहेछ। राम्ररी उपचार गराउनू ।’
सर्वोच्च अदालतले नेपालगञ्जका चेतन मानन्धरको हत्यारा योगराज ढकाल उर्फ रिगललाई सजाय माफी दिने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णय हिजो बदर गरिदिएको हो । पत्नी भारती शेर्पाले दायर गरेको रिटको सुनुवाइ गर्दै सर्वोच्चको पूर्ण इजलासले उक्त फैसला गरेको हो । ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासमा रिटको सुनुवाइ भएको थियो।
चेतनकी पत्नी भारतीको रिटमाथि प्रारम्भिक सुनुवाइको क्रममा असोज १८ गते न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले विभिन्न प्रश्न उठाउँदै विपक्षीलाई मिति र समयसमेत तोकेर लिखित जवाफ मागेको थियो । अदालतले रिट निवेदनमा उठाइएका कानूनी जटिलता र महत्वको विचार गर्दै पूर्ण इजलासमा पेश गर्न र यसलाई अग्राधिकार दिएर आजका लागि गते सुनुवाइको लागि पेशी चढाउनसमेत शर्तसहित आदेश दिएको थियो । न्यायाधीश शर्माले रिगल ढकालसँग जोडिएका सबै फैसला, निर्णयसहितको सक्कल मिसिलहरु समेत मगाएका थिए ।
अदालतले सो निवेदनलाई गम्भीर रूपमा लिएर महान्यायाधिवक्ता स्वयंलाई बहसमा उपस्थित हुन समेत आदेश दिएको थियो ।
२०७२ सालमा नेपालगञ्जमा चेतनलाई रिगलकै योजनामा खुँडा प्रहार गरी हत्या भएको भन्दै अदालतले दोषी ठहर गरेको थियो । वर्षौं लगाएर पाएको न्याय छिन्ने अधिकार राष्ट्रपतिलाई नभएको भन्दै भारती अनसन समेत बसेकी थिइन् ।




प्रतिक्रिया