अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोलिदेखि एमडिएमएस लागू हुँदै, दर्ता नभएका मोबाइल नचल्ने

भोलिदेखि एमडिएमएस लागू हुँदै, दर्ता नभएका मोबाइल नचल्ने


काठमाडौं-भोलिदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू हुने भएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले भोलिदेखि पूर्णरूपमा एमडिएमएस प्रणाली लागू गर्ने भएको हो । प्रणाली लागू भएपछि एमडिएमएस प्रणालीमा दर्ता नभएका मोबाइलमा सिम चल्ने छैनन् ।

विदेशबाट ल्याइएका र गैरकानुनी रूपमा भित्र्याइका मोबाइलमा सिमकार्ड नचल्ने प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले गत कात्तिक ४ गते मात्रै सूचना जारी गर्दै १५ दिनभित्र सेवाग्राहीहरूलाई एमडिएमएसमा दर्ता नभएका मोबाइलहरू दर्ता गर्न भनेको थियो। सूचना जारी गरेको मितिबाट १५ दिनभित्र प्रणालीमा दर्ता नभएका मोबाइल ह्यान्डसेटहरूमा नियमानुसार मोबाइल दूरसञ्चार सेवा अवरुद्ध हुने समेत जनाएको थियो। 

सोही अनुसार प्राधिकरणले भोलिदेखि एमडिएमएस लागू गर्न लागेको हो। 

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार सुरूमा ‘हाइ रेन्ज’ का मोबाइल ह्यान्डसेटमा यो लागू हुनेछन्। यसमा एक लाखभन्दा महँगा फोनहरू पर्नेछन्। उहाँले भन्नुभयो, ‘यसरी गर्दा भोलिमात्रै ८ सयदेखि एक हजार ह्यान्डसेट ब्लक हुने देखिन्छ। विशेष हाइ रेन्जका मोबाइल जस्तै आइफोन, वान-प्लस, सामसङ कम्पनीका मोबाइल सेट पर्ने देखिन्छ।’

प्राधिकरणले नेपाल भित्रिने हरेक मोबाइलको आइएमइआई नम्बर दर्ता गर्न अनिवार्य गरेको हो। वैध रूपमा अर्थात् सरकारलाई भन्सार तिरेर भित्र्याइएका फोनको आइएमइआई नम्बर प्राधिकरणमा दर्ता गरिएको हुन्छ। यस्ता फोन स्वतः एमडिएमएस प्रणालीमा पनि दर्ता हुन्छन्। 

तपाईंको फोन एमडिएमएसमा दर्ता भएको छ वा छैन भन्ने एमडिएमएसको आधिकारिक पोर्टल https://mdms.nta.gov.np/ मा गएर हेर्न सकिन्छ। यसको लागि आवश्यक मोबाइलको आइएमइआई नम्बर किप्याडमा गएर *#०६# डायल गरेर पत्ता लगाउन सकिन्छ।

अथवा तपाईंको ह्यानडसेट नयाँ छ भने त्यसको आइएमइआई नम्बर प्राधिकरणको वेबसाइट https://eir.nta.gov.np मा गएर दर्ता गर्न सकिन्छ।