काठमाडौं-सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विज्ञापन क्षेत्रको चुहावट नियन्त्रण गरेरै छाडिने बताउनुभएको छ।
आज विज्ञापन बोर्डद्धरा आयोजित ‘रेडियो टेलिभिजनको व्यवसायिक प्रवर्द्धनमा संलग्न जनशक्तिको क्षमता विकास’ कार्यक्रममा बोल्दै मन्त्री शर्माले विज्ञापन नियमावली संशोधन भएकाले विज्ञापन चुहावट नियन्त्रण हुने बताउनु भएको हो।
विज्ञापनमा धेरै चुहावट भएको, विज्ञापनको बजेट सम्बन्धित मिडियामा पुग्न नसकेको र यसले मिडिया आत्मनिर्भर हुन सकेनन् भनेर धेरै गुनासो आएपछि विज्ञापन नियमावली संशोधन गरिएको मन्त्री शर्माले बताउनु भयो। उहाँले भन्नुभयो, ‘अब यसबाट धेरै सुधार आउने विश्वास छ।’
मन्त्री शर्माले सरकारी विज्ञापनमा अर्बौं बजेट विनियोजन हुने गरे पनि बीच बाटोमै हराएर मिडियामा एकदमै कम बजेट जाने प्रवृत्ति देखिएकाले त्यसलाई रोक्न नियमावली परिमार्जन गर्नु परेको बताउनु भयो। उहाँले भन्नुभयो, ‘अहिले विज्ञापन नियमावली संशोधन भएको छ। यसको उद्देश्य सरकारले छुट्याएको सबै रकम मिडियामा जाओस् भन्ने हो। विज्ञापन एजेन्सी मार्फत आएको हो भने एजेन्सी शुल्क १५ प्रतिशत बाहेक बाँकी बजेट सम्बन्धित मिडियामा जाने छ।’ यसमा कडाइ गर्न उहाँले बोर्डलाई निर्देशन समेत दिनुभयो ।
अहिले सबै क्षेत्रले आर्थिक मन्दी भोगेको भन्दै मन्त्री शर्माले विज्ञापन बजार र मिडिया क्षेत्र त्यसबाट अछुतो नरहने उल्लेख गर्नुभयो। ‘अहिले सबै क्षेत्रमा आर्थिक मन्दी छ। विज्ञापन बजार क्षेत्रले समेत आर्थिक मन्दीको चरम अभाव भोगिरहेको छ,’ उहाँले भन्नुभयो, ‘त्यसैमा जति विज्ञापन उपलब्ध हुन्छन्, त्यति विज्ञापनको बजेट सम्बन्धित मिडियामा पुग्न नसक्दा मिडियालाई बाँच्न गाह्रो भइराखेको छ।’
उहाँले समग्र विज्ञापन बजारलाई स्वस्थ र पारदर्शी बनाउदै यसको दायरा फराकिलो बनाउन राष्ट्रिय विज्ञापन नीति जारी गर्ने तयारी गरिरहेको पनि जानकारी दिनुभयो।
विज्ञापन बजारलाई व्यवस्थित गरे अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वकालत गर्ने मिडिया समेत बलियो हुने मन्त्री शर्माले विश्वास व्यक्त गर्नुभयो ।






प्रतिक्रिया