काठमाडौँ-नेपाल पत्रकार महासङ्घले अन्नपूर्ण दैनिकका समाचारदाता राजकरण महतोमाथि सार्वजनिक यातायातका सहचालकबाट गरिएकोे दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासङ्घको महोत्तरी शाखाका सचिव महतोलाई यही माघ ७ गते बा२ख ४५३४ नम्बरको सुन्दरीमाई यातायातका सहचालकले अश्लील शब्दसमेत प्रयोग गरी गालीगलौज गरेको जनाइएको छ।
महासङ्घका महासचिव रोशन पुरीले उक्त घटनाका बारेमा आज एक प्रेस विज्ञप्ति जारी गर्दै हरेक नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको प्रत्याभूति गर्न सरकारसँग माग गर्नुभएको छ। महासङ्घले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न सम्बन्धित पक्षसँग माग गरेको छ।
यसैबीच, पीडित पत्रकार महतोले दोषीलाई कारबाहीको माग गर्दै नेपाल प्रहरीको तीनकुनेस्थित प्रहरी वृत्तमा उजुरी दिनुभएको छ। उक्त वृत्तका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथाकीले निवेदन प्राप्त हुनासाथ यातायात कार्यालयबाट विवरण मगाएर अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो।






प्रतिक्रिया