काठमाडौं-नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानम्त्री केपी शर्मा ओलीसँग अभिनेता राजेश हमालले सिनेमा सम्वाद गर्नुहुने भएको छ।
सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को अवसरमा सो सम्वाद गर्न लाग्नु भएको हो। स्वदेशी तथा विदेशी चलचित्रकर्मीको माझमा राष्ट्रिय सभागृहमा शुक्रबार बिहान ११ बजेदेखि दिउँसो बजेसम्म उहाँहरूबीच लाइभ सम्वाद हुने भएको छ।
सो क्रममा फिल्मका विविध आयाम र विधालाई समेटेर छलफल हुने छ। सो संवाद कार्यक्रममा सर्वसाधारणले निःशुल्क सहभागी हुन पाउने आयोजक समिति सदस्य रहनुभएका प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डेले बताउनु भयो।
चैत १ गतेदेखि ५ गतेसम्म चल्ने महोत्सवमा निर्देशन शिल्प, नेपाली चलचित्रको बजार, चलचित्र समीक्षा र एआईको भविष्यसम्मका विषयमा छलफल हुनेछन्।
‘निर्देशक हराएको सूचना’ सत्रमा रामबाबु गुरुङ, झरना थापा र दीपकराज गिरीले छलफल गर्नेछन्। फिल्ममा लैंगिक असमानताले पारेको प्रभावका बारेमा अभिनेत्री रीमा विश्वकर्मा र गायिका आनी छोइङ डोल्माले विमर्श गर्नेछन्। दुवै छलफलका कार्यक्रम आइतबार पर्यटनको बोर्डको हलमा हुने जनाइएको छ।

छलफल शृंखलाअन्तर्गत नै शनिबार प्रविधि विज्ञ तथा गीतकार करुण थापाले एआईका कारण भविष्यमा फिल्म निर्माणमा पर्नसक्ने असरकाबारे एकल प्रस्तुति दिनेछन् भने फिल्म समीक्षक प्रभाकार गौतमले केकी अधिकारी, प्रदीप भट्टराई र सम्पादक केपी ढुंगानासँग समीक्षा ताली कि गाली शीर्षकमा बहस चलाउनेछन्।
‘सिनेमाका नयाँ बजार र अवसर’ शीर्षकमा दिनेश डिसी, जितु नेपाल, पुष्पलता न्यौपाने र जनक तामाङले छलफल गर्नेछन्। आनी छोइङको जीवनप्रेरित वृत्तचित्र ‘आनी छोइङ डोल्मा : नथिङ इम्पोसिबल’को प्रदर्शनसँगै यो सालको निफ सुरु हुने जनाइएको छ । फेस्टिभलमा ४० देशका ८८ फिल्म देखाइने भएको छ।





प्रतिक्रिया