काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्ययनका लागि विद्यार्थीहरु विदेश जाने भएकोले गर्दा विश्वविद्यालयहरु खाली हुने र विद्यार्थी नपाउने अवस्था बन्दै गएको भन्द चिन्ता व्यक्त गर्नुभएको छ।
आज सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सिनेमा संवाद कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। अध्यक्ष ओलीले नेपाली युवाहरु अध्ययनका लागि भनेर विदेश जाने युवाहरूको तथ्यांक डरलाग्दो रहेको बताउनु भयो।
उहाँले विदेश अध्ययनका लागि जाने विद्यार्थीहरु पढेर फर्किने भन्दा उतै जीवन बिताउने मानसिकतामा पलायन भइरहेको बताउनुभयो। अध्यक्ष ओलीले युवा पुस्तालाई कुनैपनि देश पैसा भएर धनी हुने नभइ विकास निर्माणपछि मात्रै धनी हुन्छ भन्नेकुरा बुझाउन जरुरी रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘युवाहरुमा देशभित्रै बसेर केही गर्नुपर्छ भन्ने भावना र विश्वास दिलाउन सक्नुपर्छ। युवाहरु विदेश दुई वटा कारणले गइरहेको देखिन्छ। अध्ययनको सिलसिलामा बाहिर जानेको संख्या बढ्दो छ। नेपालको विश्वविद्यालयहरु खाली हुँदै गइरहेको छ, विद्यार्थी नपाउने अवस्था बन्दैछ। अध्ययनका लागि बाहिर जान नसके कामका लागि बाहिर जाने प्रवृत्ति अर्को छ। बाहिर अध्ययनका लागि जाने विद्यार्थीहरु निकै धेरै विद्यार्थीहरुको ठूलो संख्या पढेर फर्किने भन्दा पनि उतै पढेर उतै जीविका चलाउने मानसिकतामा देखिन्छन्। त्यो अर्को खतरनाक कुरा हो। विदेश पलायन रोक्नका लागि दुई कुराको आवश्यकता छ। कुनैपनि देश पैसा भएर धनी हुने होइन, विकास गर्छ, अनि धनी हुन्छ, अनि पैसा कमाउँछ। कुनैपनि देशले रेडिमेट विकास पाएको छैन। हामीले युवा पंक्तिलाई हामीले हाम्रो देश बनाउनुपर्छ र मात्रै विकसित हुन्छ, सुविधा सम्पन्न देशमा बस्न पाउँछौँ भन्नेकुरा बुझाउनु पर्छ ।’




प्रतिक्रिया