अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले प्रभावकारी उपभोक्ता हित संरक्षण नीति ल्याउने: मन्त्री भण्डारी

सरकारले प्रभावकारी उपभोक्ता हित संरक्षण नीति ल्याउने: मन्त्री भण्डारी


बाँके-उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उपभोक्ताको हित संरक्षणसम्बन्धी प्रभावकारी नीति निर्माण गरी कार्यान्वयन गर्ने बताउनुभएको छ।

बाँकेको नेपालगञ्जमा आज उद्योग वाणिज्य कार्यालयद्वारा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले संविधानमा उल्लेखित उपभोक्ता हित संरक्षणका लागि उपभोक्ता अदालत गठनलगायत कानुन निर्माण गर्ने जानकारी दिनुभयो।

‘उपभोक्ताबीच विगतमा भएका कार्यको समीक्षा गर्दै आगामी दिनमा रणनीति तय गरिने छ’, मन्त्री भण्डारीले भन्नुभयो, ‘उपभोक्ता हित संरक्षण नीति जारी गरिनेछ।’ उक्त सिलसिलामा स्वच्छ बजार र उपभोक्ता हित संरक्षण कार्यलाई प्रभावकारी बनाइने उहाँको भनाइ थियो। मन्त्रालयले अनुचित मूल्य वृद्धि नियन्त्रण कार्यलाई प्रभावकारी बनाउने मन्त्री भण्डारीले उल्लेख गर्नुभयो।

कार्यक्रममा सहभागी उपभोक्ताले सीमानाकाबाट हुने चोरी निकासी तथा पैठारी नियन्त्रण गर्न माग गरेका थिए। साथै बाँकेमा वस्तु खरिद बिल उपभोक्तालाई दिलाउन व्यापारीलाई बाध्य पार्नेगरी सरकारले काम गर्नुपर्नेमा जोड दिएका थिए।

रु एक सयभन्दा माथिको वस्तु खरिद गर्दा भन्सार तिर्नुपर्ने राज्यको व्यवस्था हुँदाहुँदै पनि ठूला व्यापारीले त्यसको कार्यान्वयन गर्दैनन् भन्दै मन्त्री भण्डारीसमक्ष धेरै उपभोक्ताले गुनासो व्यक्त गरेका थिए। विगत १० वर्षदेखि उद्योग नवीकरण गर्न नपाएको जानकारी गराउँदै उपभोक्ताले नवीकरणका लागि मागसमेत गरेका थिए।

यसैबीच नेपालगञ्जमा डल्फिन रुपको १४औँ वार्षिकोत्सवको आज उद्घाटन गर्दै मन्त्री भण्डारीले व्यावसायिक हित संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।