अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोरङको रङ्गेलीमा आगलागी २० घर जले

मोरङको रङ्गेलीमा आगलागी २० घर जले


काठमाडौं- मोरङको रङ्गेली–३ बाबुसाहेव टोलको सन्थाल बस्तीमा आगलागी भएको छ। आगलागीबाट उक्त टोलका २० वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

शनिबार दिउँसो अढाई बजेतिर आगलागी हुँदा सन्थाल समुदायका २३ परिवारका २० वटा घर जलेर नष्ट भएको हो। बाक्ला घर भएका कारण धेरै वटा घर जलेर क्षति पुगेको प्रहरीले जनाएको छ।

फुसका घर र पश्चिमबाट हवा चलेका कारण बस्तीमा चाँडै आगो सल्किएको थियो। कानेपोखरी गाउँपालिका, रङ्गेली, बेलबारी, पथरीशनिश्चरे, सुन्दरहरैँचा नगरपालिका, विराटनगर महानगरकासहित ७ वटा वारुणयन्त्र, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा शनिबार साँझ आगो नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता रञ्जन दाहालले जानकारी दिनुभयो।
चौपाया र मानवीय क्षति नभएको दाहालले बताउनुभयो। आगलागीबाट भएको धनमालको क्षतिको विवरण भने आइ नसकेको उनले जानकारी दिनुभयो।