अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय जनगणना २०७८ का विषयगत प्रतिवेदन

नेपालको जनसंख्यामा दुई तिहाइ विवाहित, एकतिहाइ अविवाहित

नेपालको जनसंख्यामा दुई तिहाइ विवाहित, एकतिहाइ अविवाहित


काठमाडौं-नेपालीहरूमध्ये कतिले विवाह गरेका होलान् ? अथवा कति अविवाहित होलान् ? १० वर्षभन्दा माथिको जनसंख्यामा विवाहित र अविवाहितको तथ्याङ्क हेर्दा रोचक दृष्य देखिएको छ। जसअनुसार १० वर्ष भन्दा माथिका २ करोड ३९ लाख ५८ हजार ८ सय ६८ जनसंख्या मध्ये ३३.१ प्रतिशत अर्थात् ७९ लाख ३० हजार ३ सय ८५ जना नेपाली अविवाहित छन्।

यसैगरी करिब ६६ प्रतिशत नेपालीहरू विवाहित छन्। १० वर्ष भन्दा माथिको मध्ये १ करोड ६० लाख २८ हजार ४ सय ८२ जनसंख्या विवाहित छन्। राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कका आधारमा ‘नेपाल पपुलेसन कम्पोजिसन अफ नेपाल’ प्रतिवेदनले नेपालीको वैवाहिक अवस्था बारे उक्त तथ्य बाहिर ल्याएको हो। प्रतिवेदनका अनुसार पुरुषको तुलनामा अविवाहित महिलाहरू थोरै छन्। १० वर्ष भन्दा माथिको जनसंख्या मध्ये ३८ प्रतिशत पुरुष अविवाहित छन् भने महिलाहरू २८ प्रतिशत मात्रै छन् । यस तथ्याङ्कका आधारमा नेपालमा पुरुषको भन्दा महिलाको विवाह छिटो हुने गरेको देखिन्छ। विवाहितमध्ये पुरूषको प्रतिशत ५९.१ छ भने महिलाको ६४.३ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा नेपाली पुरूषहरूको विवाह गर्ने औषत उमेर २५.५ वर्ष रहेको छ भने महिलाको २१.८ वर्ष रहेको छ । नेपालको मुलुकी ऐनले तोकेको २० वर्ष भन्दा कम उमेर गरेको विवाहलाई प्रतिवेदनमा बालविवाह भनेर उल्लेख गरिएको छ । यो संख्या पनि उल्लेख्य रहेको छ। गाउँपालिका भन्दा नगरपालिका क्षेत्रमा बालविवाह प्रथा झन् उच्च रहेको देखिन्छ। प्रतिवेदन अनुसार नगरपालिका क्षेत्रमा २० वर्ष भन्दा कम उमेरमा विवाह गर्नेहरू कुल विवाहित जनसंख्याको ३६.३ प्रतिशत छन् भने गाउँपालिका क्षेत्रमा ३४.३ प्रतिशत रहेका छन् । यस्तो विवाह सबैभन्दा बढी तराई क्षेत्रमा रहेको छ। जहाँ ४२.२ प्रतिशत मानिसहरूले मुलुकी ऐनले तोकेको भन्दा कम उमेरमा विवाह गरेका छन् । पहाडी क्षेत्रमा पनि यो संख्या उल्लेख्य नै रहेको छ। जहाँका विवाहित मध्ये ३२.६ प्रतिशत र हिमाली क्षेत्रमा ३३.१ प्रतिशत विवाहितहरूको विवाह २० वर्ष भन्दा कम उमेरमा भएको हो ।

प्रादेशिक रूपले हेर्दा मधेस प्रदेशमा ४२.४ प्रतिशत जनसंख्याको बालविवाह भएको छ भने कर्णाली पनि त्यसको हाराहारीमै देखिन्छ। कर्णाली प्रदेशका करिब ३८ प्रतिशत जनसंख्याको विवाह २० वर्ष भन्दा कम उमेरमा नै भएको हो । बालविवाह मध्ये सबैभन्दा कम सुदुरपश्चिम प्रदेशमा २९.१ प्रतिशत र त्यसपछि बागमतीमा २९.३ प्रतिशत रहेको छ। कोशी र लुम्बिनीमा ३४ प्रतिशतले २० वर्ष भन्दा कम उमेरमा विवाह गरेका छन्। गण्डकी प्रदेशमा ३२.४ प्रतिशतको विवाह २० वर्ष भन्दा कम उमेरमा भएको हो।

विवाहकै वर्गमा पर्ने सम्बन्ध बिच्छेद गर्ने संख्या कुल विवाहितमध्ये ०.६ प्रतिशत रहेको छ। श्रीमान् वा श्रीमतीको मृत्यू भएका कारण एकल जीवन बिताइरहेको ६ प्रतिशत जनसंख्या छ । यसरी एकल जीवन बिताउने पुरूष भन्दा महिला बढी छन्।

कार्यालयका जनसंख्या शाखाका प्रमुख एवं निर्देशक ढुण्डिराज लामिछानेले नेपालीहरुको विवाह गर्ने औषत उमेर विभिन्न कारणले बढ्दै गएको बताउनुभयो ।