अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खानेपानी पुर्‍याउने जिम्मेवारी पूरा गर्न सरकार प्रतिबद्ध छ: मन्त्री राई

खानेपानी पुर्‍याउने जिम्मेवारी पूरा गर्न सरकार प्रतिबद्ध छ: मन्त्री राई


काठमाडौं-खानेपानीमन्त्री राजेन्द्रकुमार राईले सबै नेपालीलाई पर्याप्त रुपमा खानेपानी उपलब्ध गराउन नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।

स्मार्ट वास सोलुसन्स प्रालि र नेदरल्याण्ड्सको विकास सहयोग संस्था (एसएनभी नेपाल)को आयोजनामा सोमबारदेखि राजधानीमा आयोजित ‘वर्षातको पानी सङ्कलन र व्यवस्थापन’ विषयक क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय सम्मेलनको समापन समारोहलाई आज सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो।

मन्त्री राईले यस क्षेत्रीय अन्तर्राष्ट्रिय सम्मेलनले पारित गरेका निष्कर्षलाई कार्यान्वयन गर्न सरकार तयार रहेको बताउनुभयो। उहाँले नेपालमा हिमालयबाट उद्गम भएका पानी १२ महिना नदीमा बगिरहे पनि बस्तीबस्तीमा पानीको अभाव रहेको उल्लेख गर्नुभयो।

उहाँले खानेपानीको क्षेत्रमा काम गर्ने नीति निर्माता, प्राविधिक, प्राज्ञ, अनुसन्धानकर्ता, अभ्यासकर्ता र सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिलाई पानीको सङ्कट समाधान गर्न, गरिबी घटाउन र आय बढाउने कार्यमा अग्रसर हुन आग्रह गर्नुभयो।

खानेपानी मन्त्रालयलका सचिव सुरेश आचार्यले जलवायु परिवर्तनका कारण नेपालले खडेरी र खानेपानीको समस्या भोग्नुपरेकामा वर्षात्को पानी सङ्कलन र व्यवस्थापन अति उपयोगी विकल्प भएको बताउनुभयो। उहाँले दिगो विकासको लक्ष्य हासिल गर्न बर्षात्को पानी सङ्कलन र व्यवस्थापनका प्रयासलाई सरकारले सघाउने बचनबद्धता जनाउनुभयो।

पूर्वमन्त्री गणेश साहले पानी व्यक्ति, व्यक्तिको खुसी र समृद्धिसँग जोडिएको बताउँदै गुणस्तरीय, पर्याप्त र पहुँचयोग्य रुपमा पानी उपलब्ध हुनुपर्ने पनि उल्लेख गर्नुभयो। साथै उहाँले नेपालका सबै पालिकाका प्रमुखले आफ्ना पालिकाका बासिन्दालाई पर्याप्त पानी पुर्याउन प्रयासरत रहेको बताउँदै त्यस्ता प्रयासलाई वर्षात्को पानी सङ्कलनले सहयोग पुग्ने सुझाव दिनुभयो।


कार्यक्रममा इन्टरनेशनल रेन वाटर हार्भेष्टिङ एलायन्सका अध्यक्ष ई. हान्स हाइजनानले नेपालको समग्र विकासको लागि सबै बस्तीमा पर्याप्त पानी आपूर्ति आवश्यक भएको र वर्षात्को पानीको सङ्कलन र व्यवस्थापनले त्यसलाई सघाउने बताउनुभयो। उहाँले पानी संयुक्त राष्ट्रसङ्घको दिगो विकासलक्ष्य हासिल गर्न अत्यावश्यक तत्व भएको बताउँदै खानेपानीको लक्ष्यले अन्य लक्ष्य हासिल गर्न पनि उत्तिकै सघाउने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा आयोजक संस्था एसएनभीकी नेपाल र भुटानकी देशीय निर्देशक लेनिके ब्रामले नेपालमा वर्षात्को पानी सङ्कलन परम्परागत रुपमा विकसित हुँदै आएको बताउनुभयो। उहाँले देशका सबै ठाउँमा पर्याप्त खानेपानीको व्यवस्था गर्न वर्षात्को पानी सङ्कलन र व्यवस्थापन भरपर्दो विकल्प भएको बताउनुभयो। साथै उहाँले जलवायु परिवर्तनका प्रतिकूल असरलाई न्यूनीकरण गर्न पनि वर्षात्को पानी सङ्कलन र व्यस्थापन गर्नु अत्यावश्यक भएको उल्लेख गर्नुभयो।

सोही अवसरमा इन्टरनेशनल रेन वाटर हार्भेष्टिङ एलाइन्स र नेपाल रेनवाटर हार्भेटिङ एलाइन्सबीच यस क्षेत्रमा सूचनाको आदानप्रदान, आपसी सहयोग र यस अभियानलाई विश्वव्यापी गराउने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर पनि भएको छ। स्मार्ट वासका अध्यक्ष तथा सम्मेलन आयोजक समितिका अध्यक्ष डा.रामदीप साहले सहभागी, स्रोत व्यक्ति, सहजकर्ता, आयोजक, सहआयोजक, सहयोगदाता, स्वयंसेवक र सञ्चारकर्मीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। समापन समारोहमा सम्मेलनका प्राविधिक समितिका अध्यक्ष एव नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा सुनिलबाबु श्रेष्ठले प्राविधिक सत्रबारे जानकारी दिँदै छ बुँदे काठमाडौँ घोषणापत्र सुनाउनुभएको थियो।