काठमाडौं-कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पुरुषको तुलनामा महिला न्यायाधीशहरुले सम्पादन गरेका न्यायहरु बढी विवादरहित रहेको बताउनुभएको छ।
शुक्रबारबाट ललितपुरमा सुरु भएको महिला न्यायाधीशहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।
न्याय सम्पादनमा आएका कमीहरु पुनःसच्याइएको उदाहरण रहेको भन्दै उहाँले न्याय सम्पादन सधैँ सही नहुने बताउनु भयो । उहाँले महिला न्यायाधीशहरुले गर्नुभएको न्याय सम्पादन न्यायको मर्मको गहिराईसम्म पुगेर न्याय दिनसक्ने ल्याकतसहितको हुने गरेको विगतबाट देखिएको बताउनु भयो।
‘न्याय सम्पादन सधैँ सही हुन्छ भन्ने पनि मलाई लाग्दैन। कहिले कहीँ त्यसमा कमीहरु आउन सक्छन्। त्यसलाई सच्याइएको पनि हामीलाई थाहा छ। तर तुलनात्मक रुपले हेर्ने हो भने महिला श्रीमानहरुले, महिला न्यायाधीशहरुले सम्पादन गरेका न्यायहरु बढी विवादरहित, साँच्चै न्यायको मर्मको गहिराईसम्म पुगेर न्याय दिनसक्ने त्यो ल्याकत राखेको विगतबाट देख्न सक्छौँ । यो हामी सबैको गौरवको विषय हो ।’ मन्त्री गिरीले भन्नुभयो, ‘‘हामीले राज्यको सिंगै पुनःसंरचना गर्यौँ । नयाँ संविधान जारी गरेका छौँ । राज्यका सबै निकायमा समानुपातिक प्रतिनिधित्वको कुरा ग¥यौँ । सबै क्षेत्रमा समानुपातिक प्रतिनिधित्वको कुराहरु हामीले गरेका छौँ । अहिले पनि न्यायको क्षेत्रमा हामीले जसरी न्यायाधीशहरुको नेतृत्व प्रदान गर्नुपर्ने हो त्यसमा अझै धेरै कमजोरीहरु रहेका छन् ।’




प्रतिक्रिया