काठमाडौँ-राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको नेपाल सम्वत्को ‘तिथिमिति डट कम’ नामक सफ्टवेयर र ‘नेपाल सम्वत् मोबाइल एप’ सरकारलाई हस्तान्तरण गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठ, स्पाइरालोजिक्स इन्टरनेसनलका मुख्य इञ्जिनियर अरुण थापाले उक्त सफ्टवेयर र एप हस्तान्तरण गर्नुभएको हो।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपाल सम्वत्को गणना अलिक जटिल ठानिएकोमा अब सहज हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “नेपाल सम्वत्लाई कार्यान्वयन गर्नका लागि यसलाई अझै व्यवस्थित गर्नुपर्नेछ, अब यो एप कार्यान्वनमा जान्छ।”
सो सफ्टवेयर सञ्चालनमा आएसँगै विश्वको जुनसुकै स्थानबाट एकसाथ नेपाल सम्वत्, विक्रम सम्वत् र इस्वी सम्वत् प्रयोग गर्न सकिने छ। यसलाई ल्यापटप र डेस्कटपमा पनि डाउनलोड गरेर अफलाइनमा पनि प्रयोग गर्न सकिने प्रतिष्ठानका अध्यक्ष श्रेष्ठले बताउनुभयो।
उहाँले यो सफ्टवेयरबाट नेपाल सम्वत्सँगै विक्रम सम्वत् र इस्वी सम्वत्को सयौँ वर्ष अगाडि र पछाडि गएर बार, गते, वर्ष एवम् तिथी हेर्न सकिने बताउनुभयो। वर्तमान सकारले नेपाल सम्वत्लाई अनिवार्यरुपमा सरकारी कामकाजमा प्रयोग गर्ने निर्णय लागू गरिसकेको अवस्थामा भइसकेको अवस्थामा उक्त एप तथा सफ्टवेयरले कामकाजमा सहयोग हुने विश्वास लिइएको छ । सो अवसरमा मुख्यसचिव डा बैकुण्ठ अर्याल, अधिकारकर्मी मल्ल के सुन्दरलगायतको उपस्थिति थियो।




प्रतिक्रिया