अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोरङमा श्रीमतीको हत्या गरेर श्रीमान फरार

मोरङमा श्रीमतीको हत्या गरेर श्रीमान फरार


मोरङ-मोरङको सुन्दरहरैंचामा श्रीमतीको हत्या गरेर श्रीमान फरार भएका छन्। सुन्दरहरैंचा नगरपालिका-५ गार्खाली टोलकी ४५ वर्षीया मनमाया तामाङको हत्या गरेर श्रीमान फरार भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो। उहाँका अनुसार हत्यापछि मनमायाका पति ५० वर्षीय पदमबहादुर तामाङ फरार भएका हुन्।

इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान अघि बढाएर फरार रहेका पदमबहादुरको खोजी तीव्र पारेको छ। डीएसपी बस्नेतका अनुसार हत्या गरिएको अवस्थामा बिहीबार बिहान ७ः२० बजेतिर मनमायाको शव घरभित्रै फेला परेको हो। सुत्ने कोठाको खाटमाथि अर्धनग्न र उत्तानो परेको अवस्थामा शव फेला परेको छ जानकारी दिंदै, उहाँले भन्नुभयो, ‘कम्मरदेखि माथिको भागमा कपडा थिएन।’

उहाँका अनुसार प्रहरी घटनास्थलमा पुग्दा शव भेटिएको कोठाको ढोका खुला थियो। पत्नीको हत्यापछि कोठा खुलै राखी भागेका पदमबहादुर अहिलेसम्म सम्पर्कविहीन रहेको जानकारी बस्नेतले बताउनु भयो। घटनाबारे छोरी रत्ना तामाङले प्रहरीलाई जानकारी गराउनु भएको थियो। लगत्तै प्रहरी चौकी गछिया र अस्थायी प्रहरी पोस्ट बलियाबाट संयुक्त टोली घटनास्थल पुगेको थियो। हात र शरीरका विभिन्न भागमा चोटपटक रहेको अवस्थामा शव फेला भेटिएको प्रहरीले जानकारी दिएको छ। बस्नेतले भन्नुभयो, ‘घटनाको प्रकृति हेर्दा कुनै वस्तुले हिर्काएर हत्या गरे जस्तो देखिन्छ।’ उहाँका अनुसार हत्या बुधबार राति नै भएको हो।

उहाँका अनुसार पदमबहादुरले छोरी रत्नालाई ‘आमा रक्सीले मातेर लडिरहेकी छ’ भन्दै राति ८ बजेतिर फोन गरेको पाइएको छ। विहान पुगेर हेर्दा हत्या भएको अवस्थामा आमाको शव देखेको र बुबा सम्पर्कविहीन बनेको भन्दै रत्नाले प्रहरीलाई खबर गरेकी हुन् । प्रहरीका अनुसार घरमा पदमबहादुर र मनमाया मात्रै बस्दै आएका थिए ।

छोरीको बिहे भइसकेको र छोरा वैदेशिक रोजगारीका लागि साउदीमा रहेको जानकारी प्रहरीले दिएको छ। पदमबहादुरले मदिरा सेवन गरेर यसअघि पनि बारम्बार पत्नी मनमायालाई कुटपिट गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। डीएसपी बस्नेतका अनुसार मदिरा सेवन गरेर पत्नीसँग बारम्बार झैझगडा गर्ने गरेको जानकारी स्थानीयले दिएका छन्।