अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति सार्न गृहमन्त्रीलाई एमाले काठमाडौंका नेताहरुको आग्रह

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति सार्न गृहमन्त्रीलाई एमाले काठमाडौंका नेताहरुको आग्रह


काठमाडौं-नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले काठमाडौं जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति पछि सार्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई आग्रह गरेको छ।

  बुधबार नेकपा(एमाले)का नेता कृष्णगोपाल श्रेष्ठसहित काठमाडौं जिल्ला कमिटीका नेताहरूले गृहमन्त्री रवि लामिछानेलाई भेटी काठमाडौंमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मितिलाई पछि सार्न आग्रह गरेको हो।

सरकारले सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै काठमाडौंलगायतका २८ जिल्लामा आगामी साउन १ गतेदेखि अनिवार्य प्रयोगमा ल्याउनुपर्ने समय सीमा तोकेको छ। वृद्ध भत्तालगायतका सामाजिक सुरक्षा भत्ता लिनका लागि पनि अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र चाहिने भएपछि समयमै राष्ट्रिय परिचयपत्र नहुँदाको अवस्थामा भत्ता नरोक्न नेताहरुले माग गरेका छन् ।

काठमाडौंका पालिकाहरुमा सिमित स्रोत, साधन रहेको र समयमै सबैलाई परिचयपत्र उपलब्ध गराउन नसक्ने भन्दै समयावधिमा पुनःविचार गर्न गृहमन्त्रीलाई आग्रह गरिएको नेता कृष्णगोपाल श्रेष्ठले बताउनु भयो।

उहाँले भन्नुभयो, ‘त्यो अवधिभित्र राष्ट्रिय परिचयपत्र प्राप्त गरेर नम्बर लिन नसक्दा आजसम्म लिइ आएको वृद्धभत्ता लिन पाइएन। यो ज्येष्ठ नागरिकहरुको पीडाको विषय भयो। यसलाई व्यवहारिक गर्नको लागि आवश्यक पर्दा यसको समय थप गर्नुपर्ने स्थिति पनि हुन्छ। गृह प्रशासनले पनि यसलाई सहजीकरणको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण गराइयो। गृहमन्त्रीले हाम्रो कुरालाई अत्यन्त सकारात्मक ढंगले लिनुभएको छ । कुनै पनि हालतमा व्यवहारिक रुपमा समस्या उत्पन्न हुन नदिने गरी सुझावलाई कार्यान्वयन गर्छु भन्नुभयो।’

राष्ट्रिय परिचयपत्र प्रभावकारी र सहज रूपमा जनताले पाउनुपर्ने भन्दै गृह मन्त्रालयले आवश्यक सहजीकरण गर्नुपर्ने बताए ।