अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विकासको लहर ल्याउने गरी व्यवस्थित र ठोस योजना ल्याउनुस्: प्रधानमन्त्री ओली

विकासको लहर ल्याउने गरी व्यवस्थित र ठोस योजना ल्याउनुस्: प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र तीब्र विकासको लहर ल्याउने र नयाँ कीर्तिमान राख्ने गरी ठोस योजना ल्याउन निर्देश गर्नुभएको छ।

नेपाल सरकारका मन्त्रालयहरुको वार्षिक प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यान्वयन योजनाका साथै वर्तमान सरकारको १०० दिन भित्र गरिने मुख्य कामबारे आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको प्रस्तुतिपछि सम्बोधन गर्दै उहाँले देश र जनताका लागि गर्नुपर्ने र गर्न खोजिएका कामका सम्बन्धमा अझ व्यवस्थित र कङ्क्रिट तयारी गर्न निर्देशन दिनुभएको हो।

उहाँले बजेट कम भएको स्थितिमा सुशासन कायमसहित फटाफट काम गरेर शत्प्रतिशत विकास खर्च गर्ने हो भने अर्थतन्त्र चलायमान हुने स्पष्ट गर्नुभयो। ‘हामी जागिर खाइरहेका छैनौँ। हामी देश र जनताको सेवा र विकासका लागि काम गरिरहेका छौँ। भावी सन्ततिका लागि काम गरिरहेका छौँ। यो सेवा हाम्रो तलवसँग तुलना हुन सक्दैन’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हाम्रो लक्ष्य निर्धारण गराइ काल्पनिक नहोस्, वस्तुगत होस्। पूरा गर्न कठिन हुन्छ भनेर लक्ष्यहरु नै कमजोर राखिनु हुन्न। हामीले कठिन मेहनताका साथ काम गरेर हरेक कुरामा लक्ष्यमा पुग्नुपर्छ। अबका तीन महिनामा इतिहासका अरु कुनै तीन महिनाभन्दा बढी मेहनत गरेर काम गरौँ। धेरै काम गर्दा समस्या आउँला वा अख्तियारमा बयान दिनुपर्ला भनेर नडराऔँ। गल्ती वा भ्रष्टाचार गरिएन भने कुनै समस्या आउँदैन।’

प्रधानमन्त्री ओलीले डिजिटल नेपालको फ्रेमवर्कको प्रभावकारी कार्यान्वयन, व्यवासायिक तालिम, विषादी र मिसावटरहित खाद्य पदार्थको आपूर्ति गराउन, उपकरण र स्रोत साधनको पूर्ण उपयोग गर्नमा पनि ध्यान दिनुभयो। उहाँले एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा कामका लागि गएको फाइलमा बढीमा तीनदिनभित्र काम गर्न, सूचना र प्रविधिलाई प्राथमिकता दिन, श्रमिक निर्यातभन्दा पनि उद्यमशीलता र रोजगारी सृजनामा लाग्न, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई जनता रोजगार कार्यक्रममा रुपान्तरण गर्न, मातृशिशु स्वास्थ्यमा सुनौला हजार दिनको मान्यतालाई ध्यान दिन, समग्रमा मान्छेको आम्दानीको बाटो बढाउन सम्बन्धित मन्त्री र सचिवलाई ध्यानाकर्षण गराउनुभयो।