अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गट्ठाघर दुर्घटनामा ज्यान गुमाउने ओखलढुंगाका ६५ वर्षीय उत्तम कोइराला

गट्ठाघर दुर्घटनामा ज्यान गुमाउने ओखलढुंगाका ६५ वर्षीय उत्तम कोइराला


काठमाडौं-भक्तपुरको गट्ठाघरमा हिजो (बिहीबार) दिउँसो ट्रकले ठक्कर दिंदा ज्यान गुमाएका व्यक्ति ओखलढुंगाका ६५ वर्षीय उत्तम कोइराला रहेको पुष्टि भएको छ। उहाँका परिवारका सदस्यले आज सनाखत गरेका हुन्। उहाँ ओखलढुंगा चिसंखुगढी गाउँपालिका–खहरे तलुवाका भएको पुष्टि भएको हो।

काठमाडौं कपनमा बस्दै आउनु भएकाव उहाँ हिजो भक्तपुर गएको परिवारका सदस्यलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ। बिहीबार ट्रकले ठक्कर दिँदा उहाँको शरीर क्षतविक्षत अवस्थामा रहेकाले पहिचान हुन सकेको थिएन। कोइराला सवार बा.४९ प ८९४४ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो पौने २ बजे गट्ठाघरमा ना.६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा उहाँको घटनास्थलमै मृत्यु भएको थियो । सुरुमा प्रहरीले दुर्घटनामा परेको स्कुटर चालक महिला भएको विवरण सार्वजनिक गरे पनि पछि त्यसलाई सच्याएको थियो । कोइरालाको शव अहिले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा रहेको छ।  

कसरी भएको थियो दुर्घटना ?
बिहीबार अपराह्न १ः४० बजेतिर भक्तपुरको गठ्ठाघरमा रुखको आडमा बसेर ट्राफिक प्रहरीले राडार गनमार्फत सवारीको गति मापन गरिरहेको थियो।  करिब ६० मिटर पर बसेका ट्राफिक प्रहरीले अचानक ५० किलोमिटर प्रतिघण्टाको गतिभन्दा बढीमा आएको भन्दै बा३९प ८९४४ नम्बरको स्कुटरलाई बीच सडकमा रोक्न लगाए, स्कुटर रोकियो । 

सडकमा अचानक स्कुटर रोकिएपछि पछाडिबाट आएको ना६ख २१७३ नम्बरको मालबाहक ट्रकले स्कुटरलाई ठक्कर दिएको थियो । तीव्र गतिको ट्रकले स्कुटरलाई  करीब एक सय मिटर परसम्म घिसारेको थियो। दुर्घटना लगतै आक्रोशित भिड जम्मा भयो । ट्रक चालक तत्काल फरार भए । चालक फरारसँगै आक्रोशित भिड प्रहरीमाथि खनियो ।

ट्राफिक प्रहरीले सडकमा जथाभाबी ‘स्पिड चेकिङ’ गरेका कारणले दुर्घटना भएको भन्दै भिड ट्राफिक प्रहरीमाथि नै जाइलाग्यो।  सडकमा गति मापन गर्न बसेका ट्राफिक प्रहरीको भागभाग भयो । आक्रोशित भिडले ट्रक तोडफोडसँगै आगजनीको प्रयास समेत गर्‍यो । त्यसपछि आक्रोशित भिड र प्रहरीबीच ढुंगा हानाहान भयो । स्थिति तनावग्रस्त बनेको थियो ।

केही प्रदर्शनकारी र केही प्रहरी घाइते भए । प्रहरीले प्रर्दशनकारीमाथि लाठीचार्ज गर्‍यो । स्थिति नियन्त्रणमा नआएपछि प्रहरीले अश्रु ग्यास प्रहार गर्‍यो । तनावकाबीच प्रहरीले शव झिक्न निकै प्रयास गर्‍यो । टायरमुिन शव परेकाले तान्दा पनि आएन । त्यसपछि क्रेन ल्याएर शव झिक्न खोज्दा आक्रोशित भिडले अवरोध गरेपछि स्थिति पुनः तनावग्रस्त भयो । घटनामा संलग्न ट्रक चालक सर्लाही मलंगवा नगरपालिका–२ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई प्रहरी नियन्त्रणमा लिइसकेको छ ।