अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुनियाँको कुनै पनि प्रेस स्वतन्त्र छैन: मन्त्री गुरुङ

दुनियाँको कुनै पनि प्रेस स्वतन्त्र छैन: मन्त्री गुरुङ


काठमाडौं-सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मर्यादित र अनुशासित सञ्चारमाध्यमले सरकालाई उत्तरदायी हुन सहयोग गर्ने बताउनुभएको छ।

राष्ट्रिय समाचार समितिको सङ्ग्रहालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले सञ्चारमाध्यमले आफ्नो भूमिका राम्रोसँग निर्वाह गरिदियो भने सरकार नागरिक प्रति उत्तरदायी हुन बाध्य हुने बताउनुभयो। मिडियाले सहीलाई सही र गलतलाई गलत भन्न सक्नु पर्ने र समाजलाई सकारात्मक बाटो तर्फ डोर्‍याउन सक्ने उहाँको धारणा छ।

नेपाली प्रेसलाई नकारात्मक हुनबाट जोगाउनु र सकारात्मक बाटोमा ल्याउनु आजको आवश्यकता भएको गुरुङले बताउनुभयो। सबै कुराको विरोध गरेर मात्र सही गन्तव्यमा पुन नसकिने कुरामा सचेत हुनुपर्नेमा गुरुङले जोड दिनुभयो। ‘दुनियाँको कुनै पनि प्रेस स्वतन्त्रै छैन’, उहाँले भन्नुभयो।

हरेक कुराको आलोचना त्यसलाई ठिक ठाउँमा ल्याउनको लागि गर्नुपर्ने उहाँले बताउनुभयो। तर कसैलाई सिद्ध्याउनको लागि सञ्चारमाध्यमले आलोचना गर्ने गरेका उहाँले बताउनुभयो। सरकारलाई उत्तरदायी बनाउन सञ्चारमाध्यमको प्रभाकारी र सकारात्मक भूमिका हुनुपर्नेमा उहाँले जोड दिनुभयो।

बलिदानबाट लडेर ल्याएको व्यवस्था प्रति नागरिकको निराशा बढेको बताउँदै गुरुङले यसलाई जोगाउनको लागि सबैले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। नागरिकमा निराशा बढाएर देश र व्यवस्था जोगाउन नसकिने उहाँले स्पष्ट पार्नुभयो।

मन्त्री गुरुङले सञ्चारमाध्यमले सरकारको भजन गाउनु नपर्ने भए पनि सही काम गर्नेको उचित प्रशंसा गर्न आग्रह गर्नुभयो। यसले समाजलाई सकारात्मक सन्देश दिने गुरुङको धारणा छ। के लेख्दा आफ्ना भ्युज बढी हुन्छ भन्ने कुरामा मात्र ध्यान नदिन उहाँले पत्रकारहरूलाई आग्रह गर्नुभयो।

नेपाली पत्रकारिता विगतको भन्दा अमर्यादित र अव्यवस्थित बन्दै गएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो। मुलुक बनाउनको लागि सबै आफ्नो ठाउँबाट सच्चिएर जानु पर्नेमा उहाँले जोड दिनुभयो।

अरू कसैले आएर मुलुक नबनाइदिने बताउँदै उहाँले आपसी झगडाले विश्वका कतिपय देशहरूले दुःख पाएका कुरालाई नबिर्सन आग्रह गर्नुभयो। ‘हाम्रो दुर्गति हाम्रै कारणले हुन्छ, त्यस कारण देश निर्माणमा हाम्रो एकता जरुरी छ’, उहाँले भन्नुभयो।