काठमाडौँ-सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बी सुब्बा गुरुङले सरकारलाई जनउत्तरदायी र जिम्मेवार बनाउन सञ्चार माध्यमले निरन्तर खबरदारी गरिरहनुपर्नेमा जोड दिनुभएको छ। राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालयमा स्थापना गरिएको ‘रासस मिडिया सङ्ग्रहालय’को आज शुभारम्भ गर्दै उहाँले सरकारलाई जनताप्रति जिम्मेवार बनाउन पत्रकारले रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।
‘सरकार र जिम्मेवार पदाधिकारीको गलत कामको कटु आलोचना गर्नुपर्छ’, सञ्चारमाध्यमका भूमिकाबारे स्पष्ट पार्दै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले भन्नुभयो, ‘तर एक पक्षीयरुपमा विरोध मात्रै गर्नु निश्पक्ष पत्रकारिता होइन, सञ्चारमाध्यम र स्वयम् पत्रकार पनि रचनात्मक हुनुपर्छ।’ उहाँले सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको विश्वव्यापी सिद्धान्त भए पनि पछिल्लो समय स्वतन्त्र पत्रकारिता व्यक्ति केन्द्रित आलोचनामा सीमित भएकामा चिन्ता व्यक्त गर्नुभयो।
पत्रकारिता क्षेत्रले वस्तुनिष्ठ र अनुशासित भएर आफ्नो भूमिका निर्वाह गरे मात्रै सरकार उत्तरदायी र जिम्मेवार हुने उल्लेख गर्दै मन्त्री गुरुङले भन्नुभयो, ‘सञ्चारमाध्यमको भूमिका प्रतिपक्षी हुनुपर्छ, गलत काममाथि प्रश्न उठाउनुपर्छ, सही र गलत छुट्टयाउन सक्नुपर्छ, सरकार र समाजलाई सभ्य बनाउन केन्द्रित हुनुपर्छ।’
जनताको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउन पनि सञ्चारमाध्यमले सरकारलाई खबरदारी गर्नु अपरिहार्य रहेको मन्त्री गुरुङको भनाइ थियो। ‘वर्तमान सरकार जनताप्रति बढी उत्तरदायी र जवाफदेही हुन खोजिरहेको छ, यसतर्फ सञ्चार जगत्को रचनात्मक सहयोग आवश्यक छ’, उहाँले भन्नुभयो। उहाँले अमर्यादित अभ्यासले सिङ्गो पत्रकारिता क्षेत्रमाथि नै प्रश्न उठिरहेको सन्दर्भमा पत्रकारितालाई व्यवस्थित, मर्यादित तथा रचनात्मक बनाउन सबै पक्ष सजग र सचेत हुनुपर्ने धारणा राख्नुभयो।
वर्तमान सरकारले अनावश्यक प्रचार नखोजेको उल्लेख गर्दै प्रवक्ता गुरुङले सरकारका जनपक्षीय कामलाई जनतासमक्ष पु¥याउन भने मिडियाले सहयोग गर्नुपर्छ भन्नुभयो। ‘मिडिया कन्टेन्ट’ उत्पादन केन्द्रका रुपमा रहेको राससले आफूलाई व्यवस्थित, सिर्जनशील र प्रविधिमैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिँदै उहाँले सञ्चार क्षेत्रको अभिभावकको भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो। राससले स्थापना गरेको मिडिया सङ्ग्रहालयबाट सञ्चार क्षेत्रको विकासको अध्ययन गर्न महत्वपूर्ण सहयोग मिल्ने विश्वास व्यक्त गर्दै मन्त्री गुरुङले पछिल्लो पुस्ताका लागि महान् काम भएको उल्लेख गर्नुभयो।
सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले रासस लामो इतिहास भएको संस्थाका रुपमा रहिआएको उल्लेख गर्दै यसले गरेका कामलाई समय क्रमसँगै हेर्ने हो भने मिडिया विकासको जीवन्त अवस्था चित्रण हुने बताउनुभयो। व्यवस्थापकीय मात्र नभई सिर्जनशील काममा पनि केन्द्रित हुन रासस व्यवस्थापनलाई निर्देशन दिँदै उहाँले समाचारका विषयवस्तुको विविधीकरणमा ध्यान दिन आग्रह गर्नुभयो। सचिव अर्यालले राससको स्थापनाकालदेखि हालसम्मका बाटोलाई सङ्ग्रहालयले दृश्यात्मक रुपमा प्रस्तुत गरेको उल्लेख गर्नुभयो ।
वरिष्ठ पत्रकार राजेन्द्र दाहालले नेपालको मिडिया विकासको इतिहासलाई जीवन्त बनाउन सङ्ग्रहालयको अवधारणा कार्यान्वयनमा लैजानु रासस व्यवस्थापनको सकारात्मक पहल भएको बताउनुभयो। उहाँले सञ्चार उपकरणसँगै उत्पादित समाचारका विषयवस्तु पनि प्रदर्शनीमा राख्नु उपयुक्त हुने सुझाव दिनुभयो।
‘सङ्ग्रहालयमा सुरुआतदेखि वर्तमानसम्मको स्पष्ट प्रस्तुति हुनुपर्छ, राससको बुलेटिन, भाषा, शैली पुस्तिकासमेत समेट्नुपर्छ’, वरिष्ठ पत्रकार दाहालले भन्नुभयो ।
वरिष्ठ पत्रकार एवं प्राध्यापक रामकृष्ण रेग्मीले मिडिया सङ्ग्रहालय स्थापना गरेर राससले ऐतिहासिक काम गरेको उल्लेख गर्नुभयो । सङ्ग्रहालयमा मिडिया उपकरणसँगै ‘मिडिया कन्टेन्ट’लाई पनि समेट्न सुझाव दिँदै उहाँले ऐतिहासिक सामग्रीको सङ्कलन, संरक्षण र त्यसको उचित प्रस्तुतीकरणसहित प्रदर्शनीमा राख्नु उचित हुने बताउनुभयो।
त्रिभुवन विश्वविद्यालय, आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागका विभागीय प्रमुख डा कुन्दन अर्यालले राससको सङ्ग्रहालयले ऐतिहासिक सामग्री सङ्ग्रहको संस्कृतिलाई बढवा दिएको दिएको बताउनुभयो। ‘पूराना सामग्रीको ‘आर्काइभ’मा समस्या छ, मिडियाका सामग्रीको सङ्ग्रहमा सबैले ध्यान दिनुपर्छ, संस्कृति र स्मृतिलाई जीवन्त राख्ने काम गरौँ’, उहाँले भन्नुभयो।
राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सङ्ग्रहालयले नेपालको मिडिया विकासका सम्बन्धमा अध्ययन गर्न नयाँ पुस्तालाई सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो। मिडिया प्रविधिमा आएका तीव्र परिवर्तनका कारण पनि ती उपकरण संरक्षणका लागि सङ्ग्रहालय स्थापना गरिएको उहाँको भनाइ छ।
राससले सेवा विस्तार र विविधीकरण गर्दै गइरहेको उल्लेख गर्दै कार्यकारी अध्यक्ष झाले आगामी भदौ महिनादेखि २४सै घन्टा समाचार सम्प्रेषणको तयारी गरिरहेको जानकारी दिनुभयो।
राससका महाप्रबन्धक सिद्धराज राईले राससले ६३ वर्षको अवधिमा प्रयोग गरेका ४६ प्रकारका सामग्री सङ्ग्रहालयमा राखिएको बताउनुभयो । उहाँले मिडिया सङ्ग्रहालय नेपालको मिडिया विकासक्रमको विषयमा अध्ययन, अनुसन्धान गर्ने अनुसन्धानकर्ताका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो। रासस सञ्चालक समिति सदस्य शङ्कर खरेलले नयाँ पुस्ताका लागि मिडिया विकासको अध्ययन गर्न सङ्ग्रहालयले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रिय मुद्रा सङ्ग्रहालय छाउनीका प्रमुख सुवास डङ्गोलले पूराना ऐतिहासिक सामग्रीको सङ्गह गर्नु सकारात्मक काम भएको बताउनुभयो। राससका नायब महाप्रबन्धक राजु शाक्यले सङ्ग्रहालयमा राससले स्थापनाकालदेखि उपयोगमा ल्याएका ऐतिहासिक सामग्री राखिएको बताउनु भयो।




प्रतिक्रिया